काठमाडौं- बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ। बैठक मंगलबार बिहान ९ बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको बताइएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक १४औं महाधिवेशन तयारीबारे केन्द्रित हुनेछ। कांग्रेसमा क्रियाशील सदस्यताको किचलो कायमै छ। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ।
वडा अधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने छ। रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।