काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई सघाउन बनेको राजनीतिक कार्यदलमा नै छलफल नगरी व्यापारी सांसद उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाइएको भन्दै कार्यदल संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले क्षमायाचना गरेका छन्।
सोमबार महामन्त्री खड्काले ललितपुर बाँडेगाउँस्थित किसुनजी आश्रम पुगेर स्वर्गीय कृष्णप्रसाद भट्टराईप्रति श्रद्धा–सुमन प्रकट गरेको तस्बिर राख्दै क्षमायाचना गरेका हुन्।
‘गण्डकी सरकार र संघीय सरकार विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रुपमा समयमै पाठ सिकी, यो ऐतिहासिक अवसरबाट हामीले देश एवं आम नागरिकप्रतिको कर्तव्य पालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै पनि काम नगर्ने विश्वासिलो संकल्प समय छँदै गर्न जरुरी छ,’ उनले ट्विटमा लेखेका छन्।
कार्यदल संयोजक तथा महामन्त्री खड्काको यो अभिव्यक्तिले उनी गण्डकी प्रदेशमा मन्त्री गराउन तय भएको सूचीलाई अन्तिम समयमा दलको नेतृत्वको दवावले गरिएको हेरफेर र यता स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी सांसद उमेश श्रेष्ठको नियुक्तमा सन्तुष्ट छैनन् भन्ने स्पष्ट भएको छ।
ट्विट अभिव्यक्तिको अन्तिममा उनले लेखेका छन्, ‘हामी बीचबाट जोजसको कमजोरी भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आम नागरिक र सम्बन्धित सबैसँग म क्षमायाचना गर्दछु।’
— Purna Bahadur Khadka (@NCPurnaKhadka) July 26, 2021