काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र–बाबुराम पक्षलाई दिने फैसला गरेपछि अर्को समूहका नेता लक्ष्मणलाल कर्णले आफूहरु छलफल गरेर अघि बढ्ने बताएका छन्।
कर्णले नेपाल समयसँग भने, ‘फैसलाले नै एउटालाई आधिकारिकता दिएको छ। अर्कोलाई पार्टी खोले मान्यता दिने भनेको छ।’ उनले आफूहरु पार्टीमा छलफल गरेर अघि बढ्ने बताए। ‘पार्टी खोल्नुपर्ने अवस्था भएमा राजनीतिभन्दा बाहिर जाने अवस्था हुँदैन। हामी छलफल गरेर अघि बढ्छौं,’ उनले भने ।
आयोगले उपेन्द्र–बाबुराम पक्षलाई आधिकारिकता प्रदान गर्ने निर्णय गर्दै लिखित जवाफ प्रस्तुतकर्ता अर्को पक्षलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा ६ बमोजिम छुट्टै राजनीतिक दलका रुपमा दर्ता गर्न आएमा प्रचलित कानुनबमोजिम छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गरिदिने ठहर गरेको छ।