काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता कोभिड–१९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भए पनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताए। उनले खोप खरिदका लागि एडिबी र विश्व बैंकसँग ऋण लिनका लागि हस्ताक्षर गरेको पनि जानकारी दिए।
राज्यमन्त्री श्रेष्ठले कुन–कुन ठाउँबाट खोप दिइँदैछ भन्ने सम्बन्धमा मन्त्रालयमा कल सेन्टर स्थापना गर्न निर्देशन दिइसकेको बताए। उनले सबै प्रदेशमा कोभिड–१९ प्रदेशस्तरीय अस्पताल बनाउनु आवश्यक रहेको बताए।
बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चैत महिनासम्ममा २ करोड १५ लाखलाई खोप उपलब्ध गराउने रोडम्यापको आधारमा काम गरिरहेको बताए। उनले भने, ‘असोज महिनाभित्रमा लक्षित समूहका ३३ प्रतिशतलाई खोप दिने र चैतसम्ममा खोप उपलब्ध भएमा सबैलाई २ करोड १५ लाखलाई खोप उपलब्ध गराउन सकिन्छ भन्ने रोडम्यापको आधारमा काम गरेका छौं।’