काठमाडौं- नेकपा एमालेका युवा नेता महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई ‘तह लाउने’ धम्की दिएका छन्।
हक्की स्वभाव र खरो लेखकका रुपमा चिनिएका संग्रौलालाई बस्नेतले 'साइबर सेना' लगाउने धम्की दिएको संग्रौलाले ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। यो धम्की केपी ओलीको आदेशबमोजिम आएको र यसको निन्दा गर्न जरुरी भएकोले ट्विटरमार्फत सार्वजनिक गरेको उनले बताएका छन्।
‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,’ ट्विटरमा उनले लेखेका छन्, ‘अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर!’
असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष केपी ओलीले अहिले युवा संघको ‘लडाकु दस्ता’ युथ फोर्स ब्यूँताएका छन्। जसको नेतृत्वदायी भूमिका महेश बस्नेतले निर्वाह गरिरहेका छन्।
यूथ फोर्स ब्यूँताएको केही दिनमै लेखक संग्रौलालाई दिएको यो धम्कीको अहिले सर्वत्र भत्सर्ना भइरहेको छ। कवि विनोदविक्रम केसीले ‘सर्प र बिच्छीहरुको जंगल’ छिचोलेर संग्रौला यहाँसम्म आइपुगेको भन्दै धम्कीको भत्सर्ना गरेका छन्। ‘पञ्चायतको खुंखार सिपाही चितवनको सीडीओ रामकृष्ण पन्तले कुनै बेला लेखक खगेन्द्र संग्रौलालाई भनेको थियो, ‘म विष्णुको विरोधीमाथि एक्सन लिन्छु।’ अर्थात्, ‘तँ राजाविरोधीलाई म मार्छु।’,’ उनले यो प्रसंगसहित लेखेका छन्, ‘आज संग्रौला बागी र प्रतिरोधी जनको पर्वत–प्रतिमान भएका छन्, सामान्य जनको आफ्नो लेखक भएका छन्। र, ग्याङस्टरभन्दा उपल्लो हैसियत नभएको कोही भन्छ— ‘खगेन्द्र संग्रौलालाई तह लाउँछु।’ सिंगो व्यवस्थाले त तह लाउन सकेन, खगेन्द्र संग्रौलालाई। महेश बस्नेत !!! विचार–चेतना–प्रज्ञाद्वेषीले जान्ने भाषा यही एउटा हो— ‘तह लाउनेवाला भाषा।’ हामी यसको भत्सना गर्छौं।’ कवि केसीले यसअघि संग्रौलामाथि कविता नै लेखेका थिए, ‘खगेन्द्र संग्रौलाको काँध।’
त्यस्तै लेखक नयनराज पाण्डेले बस्नेतको अभिव्यक्तिलाई ‘चरम निन्दनीय’ भन्दै लेखेका छन्, ‘मधेशमा कहावत छ– ’खिसियानी बिल्ली खम्बा नोंचे’। महेश बस्नेतमा त्यही कुरा लागु हुन्छ।’ लेखक एवं नागरिक अभियन्ता राजेन्द्र मर्हजनले पनि संग्रौलामाथिको धम्कीको निन्दा गर्दै भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीबाट जेल हालिएका कवि एवम् सामाजिक अभियन्ता वरवर रावको कविता सेयर गरेका छन्, ‘ऊ धर्तीदेखि आतंकित भयो’ धम्कीमाथि धम्की दिँदै डरमाथि डर फिँजाउँदै ऊ आफैँ डरायो ऊ निवासस्थानदेखि डरायो ऊ पानीदेखि डरायो ऊ स्कुलहरूदेखि डरायो ऊ हावादेखि डरायो उसले स्वतन्त्रतालाई नेल लगाइदियो जब हतकडी खनखन बज्यो ऊ हतकडीको आवाजदेखि पनि डरायो।'