काठमाडौं– कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका जनता समाजवादीका नेता रेशमलाल चौधरी निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि डाकेपछि डिल्लीबजार कारागारमा रहेका चौधरी कडा सुरक्षाबीच आयोगमा उपस्थित भएका हुन्।
आपसी वैमनस्य समाधानका लागि आफू आयोगमा आएको बताए। उनले नेताहरूसँग छलफल गरेपछि धारणा व्यक्त गर्ने बताए। उनले आफू महन्थ ठाकुर र उपेन्द्र यादवसँग छलफल गर्ने बताए। ‘म पार्टीको विवाद निरुपणका लागि आएको हुँ। जेलबाट के कारणले आउनुपर्यो भन्नेबारेमा म नेताजीहरुसँग कुरा गर्छु अनि मात्रै आफ्ना कुरा भन्छु,’ उनले भने।
निर्वाचन आयोगले आज जसपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो लगाउँदैछ। आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको थियो। इजलासले साउन ७ गते कानुनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो। सोहीअनुरुप जसपाका नेताहरु निर्वाचन आयोग पुगेका छन्। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले त्यसलाई रोक्न आग्रह गर्दै आयोगमा दिएको निवेदन अस्वीकार गरेको छ।
जसपा आधिकारिकता विवादको निरुपण गर्न निर्वाचन आयोगले हेडकाउन्ट गरिरहेको छ।