काठमाडौं– आगामी असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आउने निश्चित भएको छ। सोमबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयका अधिकारीले यस्तो जानकारी दिएका हुन्।
मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले ठूलो मात्रामा खोपको सुनिश्चितता भएकाले अब खोपको अभाव नहुने बताए।
कोभ्याक्सअन्तर्गत जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज भदौ पहिलो साता र कोभ्याक्स अन्तर्गतकै थप ३ लाख ४८ हजार डोज भदौ चौथो साता आइपुग्ने उनले जनाए।
यस्तै, वैदेशिक अनुदानबाट साउन अन्तिम साता १६ लाख आउने, खरिद प्रक्रियाबाट भारतमा खरिद गरेको कोभिसिल्ड १० लाख डोज भदौ दोस्रो साता आइपुग्ने र भेरोसेल भदौ मसान्तसम्म थप ६० लाख आउने उनले जानकारी दिए।