काठमाडौं– जनता समाजवादी पार्टी चाँडै सरकारमा सहभागी हुने भएको छ। जनता समाजवादी पार्टी नेपालका नेता मोहम्मद इस्तियाक राईले पार्टीको आधिकारिता विवाद टुंगो लाग्नेबित्तिकै सरकारमा सहभागी हुने बताएका हुन्। उनले पार्टीको आधिकारिकता आजै टुंगो लाग्ने बताए। उनले निर्वाचन आयोगमा पत्रकारसँग कुरा गर्दै भने, ‘पार्टीको विवाद चाँडै समाधान हुन्छ, हामी एकदुई दिनमा सरकारमा सहभागी हुनेछौं।' आयोगले जसपा विवादको मुद्दा आजै इजलासमा पेस गर्दैछ।
राईले आफूहरूका पक्षमा ३३ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेको दाबी गरे। जसपामा ५१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य छन्। पार्टीका केही नेता एमालेका अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर प्रतिगमनका पक्षमा लागेको आरोप उनको छ।
निर्वाचन आयोगमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका नेता आधिकारिकताका लागि हस्ताक्षर गर्न पुगेका छन्।