काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद टुंगो लगाउन निर्वाचन आयोगले आज केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने भएको छ।
जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलासले साउन ७ गते यस्तो निर्णय गर्दै आजका लागि सक्कल नागरिकता वा मतदाता परिचय पत्र सहित उपस्थित हुन आदेश गरेको थियो।
बिहान ११ बजे जसपा पार्टी एकीकरण हुँदाका ५१ जनालाई नै सनाखतका लागि उपस्थित हुन भनिएको छ।
सोही आदेश बमोजिम आज सनाखत गर्न लागिएको हो। आयोगको यो निर्णयविरुद्ध शुक्रबार जसपा अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्दै रिट लिएर गएका थिए। तर, अदालतले आइतबार मुद्दाको सुनुवाइ गर्दै तत्काल माग बमोजिम आदेश भने दिएन।
यता विवाद समाधान गर्ने अघिल्लो दिन नै जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय नेताहरु भने गोदावरी रिसोर्टमा जम्मा भएर बसेका छन। त्यहाँ रहेका एक कार्यकारिणी समिति सदस्यले आफूहरु यहाँबाट सोझै बिहान ११ बजे निर्वाचन आयोग पुग्ने बताए।
कार्यकारिणी समितिमा उपेन्द्र पक्षसँग ३२ जना सदस्य भएकाले आधिकारिकता सोही पक्षले पाउने देखिएको छ। निर्वाचन आयोगबाट विवाद टुंगो लागेमा जसपाको उपेन्द्र पक्ष देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो। निर्वाचन आयोगमा नयाँ दल दर्ता भने २०७७ असार २४ भएको थियो।
निर्वाचन आयोगमा जसपा दर्ता हुँदा तत्कालीन समाजवादी पार्टीबाट २५ र राजपाबाट २६ गरेर ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाइएको थियो। तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा सुरु भएको जसपाको विवाद विभाजनकै तहसम्म पुगेको हो। ओलीले पुष ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गर्दा एकै ठाउँमा रहेको जसपाका दुवै पक्ष त्यसपछि संसद पुनःस्थापना भएसँगै विवाद सुरु भएको थियो।