विराटनगर– विराटनगर–५ बिजुली अफिस नजिक यही साउन ४ गते राति मोटरसाइकलमा घोप्टो परेर मृत फेला परेका विराटनगर–५ का ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेलाई ठक्कर दिने ट्रक र त्यसका चालक पक्राउ परेका छन्।
विराटनगर–१३ को राधाकृष्ण राइस मिल नजिक पार्किङ गरिरहेको अवस्थामा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
राति करिब साढे ८ बजेतिर मोटरसाइकलमाथि मृत फेला परेका न्यौपानेलाई ठक्कर दिने को १ क १३३३ नम्बरको ट्रक र त्यसका चालक सुनसरीको धरान उपमहानगरपालिका–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई मोरङ प्रहरीले पक्राउ गरेको डिएसपी दीपक श्रेष्ठले बताए। नियन्त्रणमा लिइएको ट्रक कोइलाको ढुवानी गर्दै आएको र दुर्घटनाको दिन पनि कोइला लिएर धनकुटा जाँदै गरेको अनुसन्धानमा खुलेको डिएसपी श्रेष्ठले बताए।
पक्राउ परेका चालक राईले मोटरसाइकल चालकलाई ठक्कर दिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी श्रेष्ठले बताए। दुर्घटनापछि ट्रक चालक राईले न्यौपानेलाई उठाएर सोधपुछ गरेको र अवस्था सामान्य भएको भनेपछि आफू हिँडेको प्रहरी समक्ष बयान दिएका छन्।
दुर्घटनाको समयमा भारी वर्षा भएको र बिजुली पनि नभएका कारण कोशी राजमार्गमा जडान गरिएका सीसीटीभीका फुटेजहरु पनि स्पष्ट नदेखिएकोले अनुसन्धानमा केही कठिनाइ भएको मोरङ प्रहरीले बताएको छ।