काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीभित्र देखिएको तिक्तता र अन्तरविरोध समाधान नगर्ने हो भने धेरै अप्ठ्यारा आउने बताएका छन्। पार्टी एकताका लागि दबाब दिन कार्यदलका सदस्यहरुले गरेको छलफलमा उनले यस्तो बताएका हुन्।
‘हाम्रो बीचमा तिक्तता अन्तरविरोध समाधान नगर्ने हो भने धेरै अप्ठ्यारा हुने छन’, उनले भने, ‘हिजो जे जति कमजोरी भए त्यसको समयक्रमअनुसार समीक्षा गरौंला।’
उनले अभियानलाई अझ फराकिलो बनाएर लैजान सांसदहरूलाई सुझाव दिँदै आफू पनि एकताका लागि अग्रसर भएको बताए। स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले सर्वसम्मतिले १० बुँदा तयार पारेको बताए। ‘हामीले सर्वसम्मत रुपमा निष्कर्ष निकालेर सहमति गरेका हौं’, उनले भने, ‘व्यक्तिको कुरा गर्दा कतिपयलाई चित्त नबुझ्न सक्छ।’
सांसदहरुले एमाले विभाजन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै शीर्ष नेताहरुलाई हस्तक्षेप गरेर भए पनि पार्टी एकता बचाउनुपर्ने दबाब दिएका छन्।