काठमाडौं– नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न सक्रिय बनेका दुवै पक्षका सांसदहरूले आज आइतबार विघटित कार्यदलका सदस्यहरूसँग छलफल गर्दैछन्।
पार्टीमा एकता कायम गर्नका लागि दबाब अभियान थालेका सांसदहरूले विघटित कार्यदलका १० जना सदस्य र केही नेताहरूसँग छलफल गर्न लागेका हुन्।
दबाब अभियानमा सक्रिय रहेका सांसद झपट रावलले आफूहरुले विघटित कार्यदलका सदस्यहरूसँग १० बुँदे सहमति लगायत पार्टी एकताका विषयमा केन्द्रीत रहेर छलफल गर्न लागिएको जानकारी दिए।
सिंहदरबारस्थित कृषि समितिको हलमा सांसद र नेताहरू छलफलमा जुटन लागेका हुन्। असार २७ गते एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको थियो। तर, त्यो सहमतिलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकृत गरेपछि सहमति अलपत्र परेको छ।
‘कार्यदलले गरेको सहमति कार्यान्वयनमा लैजान के कुराले समस्या भयो, त्यो हामीले विघटित कार्यदलका सदस्यसँग बसेर छलफल गर्न खोजेका हौं,’ सांसद रावलले भने।
ओली पक्षका सांसद कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायतका सांसदले एकताका लागि दबाब अभियान सुरु गरेका हुन्।
विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्।