काठमाडौं– राजनीतिक भेटवार्तालाई तिव्रता दिएका नेकपा माओवादी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्।
आइतबार बिहान अध्यक्ष यादवकै निवासमा पुगेर विप्लव र नेता खड्गबहादुर विश्वकर्माले भेट गरेका हुन्। भेटमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको नेता विश्वकर्माले जानकारी दिए।
शनिबार मात्रै विप्लवले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए। सरकारसँग सहमति भएको ४ महिना बित्दासमेत अझै विप्लवका सयौं कार्यकर्ता जेलबाट छुटेका छैनन्।
कार्यकर्ता छुटाउनका लागि सहयोग गर्न विप्लवले विभिन्न दलका शिर्ष नेताहरुलाई भेटेर आग्रह गर्दै आएका छन्। असार ३० गतेदेखि निरन्तर राजनीतिक भेटवार्ता गर्दै आएका विप्लवले अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, माधव नेपाल, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिसकेका छन्।