दमौली- तनहुँको व्यास नगरपालिका–१४ मा रहेको डुम्रेबेँसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्कीमा पहिराले क्षति पुर्याउँदा गाउँमा खानेपानी अभाव चर्किएको छ।
गत असार १७ गते गएको पहिराले ट्याङ्कीमा क्षति पुर्याएपछि गाउँमा खानेपानीको अभाव भएको हो। पहिरोका कारण खानेपानीको ट्याङ्कीका साथै साथै अन्य संरचनामा पनि क्षति पुगेको छ।
गाउँमा तीन सातादेखि खानेपानी हाहाकार भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तरबहादुर थापाले बताए। ‘पानीको हाहाकार भएपछि स्थानीयवासी कुवाको पानी प्रयोग गर्न बाध्य छन्,’ उनले भने।
पहिराले ट्याङ्कीको लिफ्टिङमा आवश्यक पर्ने उपकरण र विद्युतीय सामग्री, पानी जम्मा गर्ने इन्टेक, फिल्टर सिस्टम, पानी लिफ्टिङ गर्ने विद्युतीय पोलसमेत बगाएको छ। उक्त खानेपानी योजनाबाट ७० घरधुरीले पानी प्रयोग गर्दै आएका थिए।
व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले खानेपानी मर्मतका लागि पहल थालिएको जानकारी दिए। ‘खानेपानीको व्यवस्था गर्नका लागि तत्काल वडा कार्यालयबाट दुई लाख ५० हजार र व्यास नगरपालिकाबाट पाँच लाख विनियोजन भइसकेको छ,’ श्रेष्ठले भने।
सात वर्षअघि २०७१ मा नेपाल सरकारको ६८ लाखको र जनश्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको थियो।