बिहीबार, भदौ ४, २०८३

आपराधिक घटना बढाउँदै मदिरा दुर्व्यसनी

मदिराका कारण आपराधिक घटना बढ्दै गएको पाइएको छ। जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष मदिराका कारण भएका आपराधिक घटना बढेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

डोटी- मदिराका कारण आपराधिक घटना बढ्दै गएको पाइएको छ। जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष मदिराका कारण भएका आपराधिक घटना बढेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीमा २०७७/७८ मा कूल १ सय ३९ मुद्दा दर्ता भएकामा मदिराकै कारण भएका घटनाका मुद्दा २५ वटा रहेका छन्।

यसैगरी मदिराकै कारण घरेलु हिंसा, महिला हिंसा र लैङ्गिक हिंसालगायत ३८ उजुरी दर्ता भएका छन्।

जिल्लाका ग्रामीण क्षेत्रभन्दा पनि सदरमुकाम र राजमार्ग छेउछाउका बस्तीमा मदिराका कारण आपराधिक क्रियाकलाप बढ्दै गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार यस आवको एक महिनामा मदिराकै कारण जिल्लामा १८ वटा आपराधिक घटना घटेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले उजुरीका अधिकांश घटना मादक पदार्थ सेवनका रहेको बताए। उनले भने, ‘हामीकहाँ आएका मुद्दामा मदिरा प्रमुख कारण देखिएकाले हामी डोटीमा मदिरा निमूर्ल पार्नुपर्ने अवस्था सिर्जना भएको छ।’

मदिराका कारण सामान्य झगडादेखि जघन्य अपराधका क्रियाकलाप बढेको भन्दै स्थानीयले मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने मागसहित निवेदन दर्ता गर्न थालेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक कान्तिराज जोशी बताउँछन्। ‘प्रहरी कार्यालयमा पर्ने अधिकांश मुद्दामा मदिरासम्बन्धीका छन्। सबैले मदिरा नियन्त्रण गर्नुपर्ने माग गर्दै आएका छन्,’ उनले भने।

जिल्लामा मदिराका कारण आपसी झैझगडा हुँदा हालसम्म दुई दर्जन बढीले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाका ग्रामीण क्षेत्रमा घट्ने आपराधिक घटनामा मदिरा सेवन गरी सामूहिक कुटपिट गरेर मारेका, सामूहिक बलात्कार गरेका तथा गर्ने प्रयास गरेका, झुण्डिएर तथा हामफालेर आत्महत्या गरेका घटना अत्यधिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

‘जति मुद्दा दर्ता भए त्यसमा सबैभन्दा बढी घटनामा मदिरा प्रमुख कारण भएको छ,’ उनले भने, ‘पूर्णरूपमा मदिरा बन्द गर्न लागिपरेका छौं, सकेका छैनौं।’

बेरोजगार युवाहरु एक ठाउँमा जम्मा हुने तथा मदिरा सेवन गरेर सङ्गठितरूपमा आपराधिक घटना घटाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शहरबजारमा घट्ने आपराधिक घटना प्रहरी कहाँ पुगे पनि यहाँका ग्रामीण क्षेत्रमा घट्ने अधिकांश घटना गाउँघरमै मिलाउने, पीडितको पहुँचमा कमी हुने तथा इज्जतका कारण गाउँमै मिलाउने गरेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी भरत कठायत बताउँछन्।

‘गाउँघरमा भएका अधिकांश घटना पिडीत पक्षसँग मान्छे नहुने तथा इज्जत जोगाउनलाई भए पनि गाउँमै मिलाउने गरिन्छ, जसले गर्दा अपराधीको मनोबल बढ्ने गरेको छ,’ कठायत भन्छन्।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीले सामुदायिक प्रहरी सेवा गठन गरी मदिरा नियन्त्रण, बालविवाह रोकथाम, आपराधिक क्रियाकलाप रोकथामलगायत क्षेत्रमा काम गर्दै आए पनि मदिरा नियन्त्रण गर्न नसकेको स्थानीयवासीको आरोप छ। - विमलबहादुर विष्ट/रासस

प्रकाशित: Jul 25, 2021| 04:48 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।