बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्तरिक पर्यटक तान्दै बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल

आन्तरिक पर्यटक तान्दै बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः सुरु भएको छ।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

बागलुङ- बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः सुरु भएको छ।

लामो समयको निषेध आदेश र निरन्तरको वर्षातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको हो।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटरको झोलुङ्गे पुल नेपालकै सबैभन्दा लामो पुल हो। पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दाबी गर्दै गिनिजबुकमा नाम लेखाउन निवेदनसमेत दिइसकेको छ। गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर शहीद उद्यानभित्रबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ। कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द गरिएको थियो । 

अत्यावश्यक कामबाहेक पर्यटकहरूका लागि बन्द गरिएको पुल निषेधाज्ञा खुकुलो भएसँगै पर्यटकहरुको चहलपहल पुनः बढ्न थालको छ। निषेध आदेशले घर र कार्यालयमा मात्रै सीमित बागलुङ बजारका अमिट कार्की एक हप्तादेखि साँझपख लामो पुलमा घुम्न आउने गरेको बताउए। 

अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका छन्। अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन्। कोरोना जोखिम कायमै रहेको हुँदा पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आउने गरेका छैनन्।

कोरोनाका कारण घरभित्रै सीमित रहेका बागलुङ र पर्वतवासी निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउन थालेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ। गर्मी मौसममा साँझपख कालीगण्डकी नदीमाथिको पुलमा चिसो हावा खान आउने गरेको आन्तरिक पर्यटक सुमन सुवेदीले बताए। पुल निर्माण गर्दा अस्तव्यस्त बनेको शहीद उद्यान बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेपछि उद्यानमा समेत पर्यटक बढ्न थालेका छन्। 

साविक धवलागिरि अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहीद उद्यान र लामो पुल भएकाले पर्यटकहरुको भीड नै लाग्ने गरेको छ। नियमितरूपमा प्रातः तथा सायमकालीन पैदल भ्रमण गर्नेले समेत पुल र उद्यान भरिन थालेको छ। 

४० लाख रूपैयाँमा गत असारमा उद्यानलाई थप सुन्दर बनाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।  'पुल निर्माण गर्दा उद्यानमा क्षति पुगेकाले आलोचनासमेत खेप्नुपरेको स्मरण गर्दै हामीले पुल निर्माण भएपछि उद्यानलाई पुनः व्यवस्थित गरेका छौं', नगरप्रमुख पौडेलले भने, 'हराभरा उद्यानको बीचमा लामो झोलुङ्गे पुल भएकाले पर्यटकीय दृष्टिले निकै आकर्षक भएकाले थप पूर्वाधारसमेत बनाउँदै लैजाने छौं।' अहिले नगरपालिकाले उद्यानमा एक जना हेरालुसमेत राखिएको छ। रासस

प्रकाशित: Jul 25, 2021| 04:44 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।