बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा समस्याको समाधान कूटनीतिक तवरबाट गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

सीमा समस्याको समाधान कूटनीतिक तवरबाट गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

'अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,' उनले भने, 'समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ।' सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको उनले बताए।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन्। बेलौरी नगरपालिकामा शनिबार आयोजित छलफल कार्यक्रममा सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको उनले बताए। 

'अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,' उनले भने, 'समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ।' सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको उनले बताए।

मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आम नागरिकलाई तनाव हुने गरेको उल्लेख गर्दै सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको बताए। बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उनले उल्लेख गरे। 

यसैबीच, शनिबारै कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरुपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे। 

'सरकारी विद्यालय खोल्न जति जोड गर्दछौँ। विद्यालय सञ्चालनमा आएपछि व्यवस्थापनमा चासो दिइँदैन,' उनले भने, 'त्यसको समीक्षा हुनु जरुरी छ।' सरकारको विद्यालयमा लगानी धेरै छ, लगानीअनुरुपका प्रतिफल नआउनुको कारण खोज्नुपर्ने बेला आएको उनले बताए।

'म प्रदेशको मुख्यमन्त्री हुँ, मेरा छोराछोरी सरकारी विद्यालयमा पढ्छन्,' उनले भने, 'विद्यालयमा पढाउने शिक्षकले आ–आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्नका लागि पठाउने गरेका छन्। आफैँले पढाएको विश्वास नभएर पठाउने गरेका हुन् वा अन्य कुनै कारण छ यसको खोजी गरिनुपर्छ।'

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य र खेलकूदलगायतका क्षेत्रमा देखिने गरी प्रगति भइरहेको बताएका थिए।

मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री खड्का तथा प्रदेशसभा सदस्यद्वय महेशदत्त जोशी र कुलवीर चौधरीसहितको टोलीले आज बेलौरी कलुवापुर सडकखण्ड, कलुवापुर नाइल–बुडर सडकखण्ड र दैजी–लिप्ना सडकखण्डको स्थलगत अवलोकन गरेको छ। 

प्रकाशित: Jul 24, 2021| 13:33 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।