काठमाडौं- जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहले निर्वाचन आयोग र सर्वोच्चमा विचाराधीन मुद्दाबारे छलफल गर्न बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ। ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा संसदीय दलको विधानबारे पनि छलफल हुने जसपाले जानकारी दिएको छ।
जसपामा हालसम्म संददीय दलको नेता चयन हुन सकेको छैन। संसदीय दलको विधान नै नबनेकाले नेता चयन हुन नसकेपछि उपेन्द्र पक्षले महन्थ ठाकुर पक्षको सहभागिता बिना नै संयदीय दलको विधान निर्माणको प्रक्रिया अघि बढाएको छ। यसका साथै पार्टीलाई चलायमान बनाउने विषयमा समेत बैठकमा छलफल बताइएको छ।
जसपामा देखिएको विवाद मिलाउनका लागि निर्वाचन आयोगले साउन ११ गते तत्कालीन जसपा एकता हुँदाका ५१ जना कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित उपस्थित हुन भनेको छ।
केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र पक्ष बहुमतमा छ। बहुमत सदस्य भएको पक्षलाई पार्टीको आधिकारिकता दिने प्रक्रिया आयोगले अघि बढाएको भन्दै त्यसविरुद्ध ठाकुर पक्षले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिससकेको छ।