काठमाडौं- नेपालका कम्युनिस्ट पार्टीहरूका ६ जना शीर्षस्थ नेताहरुले एउटै मञ्चबाट सम्बोधन गरे। पुष्पलाल मित्रता केन्द्रको आयोजनामा दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका ६ शीर्षस्थ कम्युनिस्ट नेताहरुले सम्बोधन गरेका हुन्।
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका धर्मेन्द्र बास्तोला, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा बोल्ने सबैजसो कम्युनिस्ट नेताहरू निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति खनिएका थिए। कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुलाई एउटै ठाउँमा केन्द्रित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांशले ओली कम्युनिस्टबाट पतन भएको आरोप लगाएका थिए। कम्युनिष्ट विचार र दर्शनबाट निक्कै टाढा पुगिसकेका भन्दै प्रतिष्ठानले ओलीलाई निम्तो नै दिएको थिएन।
कार्यक्रममा कम्युनिस्ट नेताहरूले राखेका धारणमा हामीले यो सामग्रीमा समावेश गरेका छौँ।
बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम भएको छैन : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले दिएको आममाफीको भाषा र उनीमा अहंकार रहेको भन्दै कटाक्ष गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई नेपालले महामहिको हुकुमको संज्ञा दिएका थिए।
नेपालले ओलीप्रति कटाक्ष गर्दै श्री ५ बडामहाराजधिराजबाट आममाफी आएको र हामी खुसीले गद्गद् भएको बताए। उनले भने, ‘हिजो महामहिम अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड। हामी गदगद् भयौं।’ नेपालले व्यग्य गर्दै भने, ‘अब नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो।’
'स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें। अब फिर्ता लिएको छु' भनिदिएको भए कति राम्रो हुने उनको भनाइ थियो। ओलीलाई नेपालले बादशाह भनेका छन्। उनले भने, ‘बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम भएको छैन।’
एक नेताको अहंकारले आन्दोलन ढल्न पुग्यो : अष्टलक्ष्मी शाक्य
नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एक नेता (ओली)को अहंकारले गर्दा कम्युनिस्ट आन्दोलन ढल्न पुगेको बताइन्। केपी शर्मा ओलीको नाम नलिइकनै उनले एउटा व्यक्तिको व्यक्तिवादी सोच, अहंकार र दम्भले आन्दोलनमा धक्का पुगेको बताइन्।
‘कम्युनिष्ट आन्दोलनले सगरमाथा चुमिसकेको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादको लक्ष्य बोकेको अघि बढाइसकेको थियो। जनताको ठूलो अभिमत थियो,’ उनले भनिन्, ‘एउटा व्यक्तिका कारण गर्लाम्म एकै चोटी माथीबाट तल झर्यो। कम्युनिष्ट आन्दोलन अहिले धरासायी हुन पुग्यो। दक्षिणपन्थी, अवसरवादी, व्यक्तिवाद र सोचले गर्दा सर्वसत्तावाद सोचले गर्दा आन्दोलन ढल्यो।’
उनले आफूहरुले चालेको कदमले आन्दोलन र व्यवस्था जोगिएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्नैपर्ने बताइन्। ‘कम्युनिष्ट पार्टी संस्कारयुक्त हुन सकेको छैन। युवाहरुलाई बाँदरको मुकुन्डो लगाएर सडकमा पठाइँदैछ। यो चिन्ताको विषय भएको छ। नेतृत्वले यो किन गर्यो? यो निकै गम्भीर विषय हो,’ उनले भनिन्।
कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बने पनि देशमा भ्रष्टाचारलगायतका विषय व्याप्त भएको भन्दै यसतर्फ पनि गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो।
जनमतको कदर भएन : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका कम्युनिस्ट पार्टीले जनमतको कदर गर्न नसकेको आरोप लगाए। करिब दुई तिहाई नजिकको मत प्राप्त गरेपनि निवर्तमान सरकारले जनतालाई धोका दिएको उनको भनाइ थियो। निवर्तमान प्रधानमन्त्री ओलीको नाम नलिइकनै उनले कम्युनिस्ट नेतृत्वको सरकारले भएर पनि जनतालाई निराब बनाउने काम भएको टिप्पणी गरेका थिए।
'हाम्रो अवस्था त फेरियो होला। तर जनताको अवस्था फेर्न सक्यौँ कि सकेनौं? त्यसमा हामीले सोच्ने बेला आएको छ। कम्युनिष्टको दुई तिहाइ नजिकको सरकार बन्यो। प्रतिपक्षी दल ५ वर्ष सरकारमा नपुगिने भइयो भनेर निराश थिए। तर त्यत्रो मत प्राप्त गरेपनि कम्युनिस्ट सरकार ३ वर्षमा के भयो?' उनको प्रश्न थियो।
राजनीतिमा पहिले आफू बन्ने, नातागोता र आसेपासे मात्र बनाउने काम भएको उनको आरोप थियो। ओलीप्रति लक्षित गर्दै उनले पटकपटक संसद विघटन र संविधान च्यातचुत पारेको आरोप लगाएका थिए।
'एमालेभित्रका केही साथीहरुले संघर्षको झन्डा उठाउनुभयो र बचाउने काम भयो,' माधव नेपाललगायतका नेताहरूको बलिदानी र संघर्षको प्रशंशा गर्दै उनले भनेका थिए।
ओलीमा आफूबाहेक कोही छैन भन्ने देखियो : मोहन वैद्य
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्र मिल्न नसक्नुको कारण सैद्धान्तिक र व्यक्तिगत स्वार्थ र दम्भ भएको आरोप लगाएका थिए।
'नेकपाको स्थिति के भयो भने सिद्धान्तमा फरक भएर न पद्धतिमा फरक देखियो। ओलीजीमा तानाशाही र स्वचेछारी प्रवृति देखियो। कार्यशैलीमा फरक देखियो,' उनले भने, 'माधव कमरेड अलि उदार। प्रचण्ड उदार। ओलीजीमा त आफूबाहेक कोही छैन भन्ने देखियो। कार्यशैली, इगो, पद प्रतिष्ठा फुटको कारण हो।'
अविश्वास र धोकाधडीले कम्युनिस्ट पार्टी संकटमा : संयुक्त अध्यक्ष जोशी
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी नेपालका कम्युनिस्ट पार्टीहरुमा धोकाधडी र अविश्वासले आजको दुरवस्था आएको बताए।
‘एक अर्कालाई विश्वास नगर्न प्रवृतिले अहिले संकट देखिएको छ। पुष्पलाललाई आफ्नै साथीहरुले धोका दिए जस्तै अहिले पनि त्यस्तै प्रवृति बढेको छ,’ उनले भने। उनले माधव कुमार नेपालले संविधान रक्षा गर्नका लागि तरबारको धारमा हिँडेर लिएको अडानले व्यवस्था जोगिएको बताए।
एमालेमा अहिले देखिएको संकट केही व्यक्ति (ओली लगायत)का कारणले भएको उनको भनाई छ। नैतिकताको संकटमा कम्युनिष्ट आन्दोलन गुज्रिरहेको उनको भनाइ थियो। अहिले देखिएको संकटको समाधान गर्ने हो भने गलत प्रवृतिको अन्त्य गरेर मात्रै सम्भव रहेको बताएका थिए।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई पनि निम्ता गरिएको भएपनि कार्यव्यस्तताका कारण उनीहरु सहभागी भएका थिएनन्।