काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा अझसम्म पनि उग्रवामपन्थी धङधङी बाँकी रहेको आरोप लगाएका छन्। ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको मन जितेर आउनसमेत आग्रह गरेका थिए।
'धर्मेन्द्र बास्तोलाजीहरूमा उग्रवामपन्धी धङधङी अझै बाँकी छ। जनताको मन जित्नुस् र आउनुस् भन्ने हो। सबै नेताहरुलाई आ–आफ्नो पार्टीमा भएको कमीकमजोरी सुधार्नु जरुरी रहेको छ। क्रान्तिकारी भाषण र कुराले मात्रै हुँदैन जनताको मन जित्न व्यवहारमा लागू गर्नुपर्छ,' उनले भने।
उनले एमालेसहित सबै पार्टीले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको बताए। 'जनताको मन जित्न किन सकिरहेका छैनौं त्यो समीक्षाको विषय बनेको छ। बुझाइमा संकट रहेको छ। आफू बसेको परिवेशलाई चिनौं,' नेता नेपालले भने, 'अहिलेको राजनीतिक समस्या के हो? के निर्वाचनबाट भागेर हुन्छ जहाँ जनता छन् त्यहाँ पार्टी हुनैपर्छ। जनतासँग जोडिनुपर्छ।'
कार्यक्रममा नेपालले गरेको सम्बोधनको सम्पादित अंश
माधव नेपाललगायत माननीय सदस्यमाथि आममाफी दिइन्छ भनेर महाराजधिराज (केपी शर्मा ओली)बाट हिजो आदेश आयो। हामी गदगद् भयौं। हामीलाई आममाफी भएछ भनेर गदगद भएर हास्नु? स्पष्टीकरण सोध्नु गलत थियो। मैले फिर्ता लिए भनेर भनेको भए के कद घटने थियो त थिएन नि। डोरी जल्यो तर, त्यसको गाँठो जस्ताको त्यस्तै। म त मानिस सुध्रिए होलान् होला भनेर सोचेको। अझै नसुध्रिने।
हिजो मैले एकतामा असर पर्ला भनेर कीर्तिपुरमा बोल्दा संयम भएर बोलेँ। दिउँसो भक्तपुरमा गएर पनि एउटा कार्यक्रममा सम्बोधन गरेँ। त्यहाँ पनि स्वयं नै भएँ। तर, यता माधव नेपालको घर वरिपरि गएर बाँदरे प्रवृत्ति गर्ने देखियो। माधव नेपाललाई तर्साए तर्सिन्छन् भन्न खोजिएको हो कि के हो? कसैका तर्साउने कामले केही हुँदैन। कस्ता कस्ता त कहाँ गए कोही कसैको डरधम्की र त्रासले डराउँदैनौँ हामी, विशेष धातुले बनेका हौं। बादशाहलाई घोडाबाट तल झारेर पनि भएन। हामी चाहन्छौं सबै कम्युनिस्ट एकताबद्ध बनाएर जान चाहिरहेका छौं। दलाल पुँजीपति वर्ग त्यसमा पनि आसेपासे पुजिवादले गाँजेको छ अहिले कम्युनिस्टलाई। कम्युनिष्ट पार्टी लोकतान्त्रिक रुपमा अघि बढेको छ कि छैन त्यो सुनिश्चित हुनु जरुरी देखिएको छ।
नेकपा एमालेले १२१ बाट घटेर ८३ मा पुगेको छ अझै कति घट्ने हो। पार्टीको अन्तरविरोधको मूल कारण पद र प्रतिष्ठाको लडाइ होइन। वैचारिक मान्यता र विचलनका विषयको अन्तरविरोध हो। अनेक खालका विकृति विसंगतिहरु नीति, विचार र आचरणसँग जोडिएको अन्तरविरोध हो। आपसी अविश्वासको कुरा पनि आएको छ। साउन ३ गतेका दिनमा अर्का ठूलो षड्यन्त्र हुने वाला थियो। संसद पटकपटक भंग गरियो। एउटा प्रधानमन्त्रीले पटक पटक संसद सिध्याएको छ। साउन ३ मा गम्भीर षड्यन्त्र भएको थियो। शेरबहादुर देउवाले प्रधानमन्त्रीमा विश्वासको मत नपुगोस् भनेर खेल भइरहेको थियो। संसद जोगाएका छौं। कार्यपालिका र न्यायापालिकाको रक्षा गरेका छौं। हामीले न्यायोजित र संविधानसम्मत काम गरेका छौं। यसमा हामीलाई गौरव बोध भएको छ। विश्वासको मत दिने २२ जनालाई सबैलाई सम्मान गर्न चाहन्छु। बाँकी ११ जना उपस्थित हुनु भएन उहाँहरुलाई सलाम गर्छु। कम्तीमा विपक्षमा भोट खसाल्नु भएन। ८३ जना पनि मनै नलागेर अनुसाशनको कुरा सोचेर डर भएर बाध्य भएर जानेहरुलाई पनि सहानुभुति व्यक्त गर्न चाहन्छु। मुलुकलाई गम्भीर संकटबाट जोगाउनका लागि लागेका सबैलाई विशेष धन्यवाद दिन चाहन्छु।
पुष्पलाल स्मृति दिवसको अवसरमा गत वर्ष आयोजना गरिएको कार्यक्रममा त्यतिखेर नेकपाभित्र ठूलो संकट आएको थियो। पार्टीभित्रको संकटको प्रभाव नेतृत्व तहमा देखिएको थियो। त्यसको जिम्मेवारकर्ता केपी ओली नै हुनुहुन्थ्यो। पार्टीको विधि, पद्धति नितिनियम उल्लंघन गर्दै अगाडि बढ्ने काम गर्नुभएको थियो। त्यो अवस्था म आज पनि सम्झिरहेको छु। संटकबाट अघि बढिरहेको कम्युनिस्ट आन्दोलन फेरी पनि नयाँ चुनौतीका साथ अघि बढिरहेको छ। पार्टीको जीवनमा पनि चुनौती आउँछन्। त्यो आए भनेर आत्तिने काम छैन। जीवन संघर्ष हो त्यसबाट भागेर मर्छु भन्ने होइन डटेर मुकावाला गर्नुपर्छ। मैदान छाडेर भाग्ने होइन। तत्कालीन नेकपा एमालेमा, नेकपा मालेमा हामीले गम्भीर छलफल गरेका थियौं। विभिन्न समयमा हामीले छलफल गरेका थियौं। थुप्रै विषयमा छलफल गरेका थियौं।
जनताबाट टाढा राजनीति जान सक्दैन। गफाडीको गफलाई जनताले पत्याउदैनन्। व्यवहारमा देखियो भने मात्रै पत्याउने हुन्। सत्ता यस्तो चीज हो जसले दम्भ पैदा गर्दो रहेछ। सत्ताले मात्रै भ्रष्टीकरण ल्याउदो रहेनछ। बन्दूकले पनि ल्याउँदो रहेछ। जंगलमा बस्नेहरुभित्र पनि भ्रष्ट र शुद्धीकरण गर्नुपर्दो रहेछ। सत्ताको लत र अहंकारले कम्युनिष्ट र कांग्रेस चिन्दैन। यो समाजमा विकृति नै विकृति छन्। कस्तो विचार र मान्यताको पक्षपोषक हुनुहुन्छ। सही हुनुहुन्छ भने यी सबैसँग जुध्ने आँट गर्नुपर्छ। कस्तो मानिस बन्न चाहने हो त्यस्तै संकल्प गर्नुपर्दछ।
धर्मेन्द्र बास्तोलाजीहरुमा उग्रवामपन्धी धनधन्की अझै बाँकी नै छ। जनताको मन जित्नुस्। अघि आउनुस भन्ने हो। सबै नेताहरूलाई आ–आफ्नो पार्टीमा भएको कमीकमजोरी सुधार्नु जरुरी रहेको छ। क्रान्तिकारी भाषण र कुराले मात्रै हुँदैन। जनताको मन जित्न व्यवहारमा लागू गर्नुपर्छ। जनताको पीडालाई बुझौं कामको कसीमा खरो उत्रन सकेका छौं कि छैनौं त्यो हेरौं। हाम्रो मान्यता र सैद्धान्तिक दृष्टिकोणमा के के समस्या छन् त्यो बुझौं। एमाले होस् वा अन्य कुनै पार्टी हुन् सबैले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ। जनताको मन जित्न किन सकिरहेका छैनौं त्यो समीक्षाको विषय बनेको छ। बुझाइमा संकट रहेको छ। आफू बसेको परिवेशलाई चिनौं। अहिलेको राजनीतिक समस्या के हो? के निर्वाचनबाट भागेर हुन्छ जहाँ जनता छन् त्यहाँ पार्टी हुनैपर्छ। जनतासँग जोडिनुपर्छ भनाई के हो त्यो सुन्नुपर्दछ। जनताले बुझ्दै नबुझ्ने भाषा बोलेर त जनताले बुझ्दैन। कम्युनिस्टहरु शब्दमा यसरी लड्छन कि अहिलेको चुनावले भ्रष्टीकरण गराएको छ। बिना पैसाको चुनाव पनि सम्भव छैन। चुनावमा कसरी खर्च घटाउने भन्नेतर्फ ध्यान दिनुपर्ने देखिएको छ।