काठमाडौं- उपचारमा लापरबाहीका भएको भन्दै नेपाल मेडिकल काउन्सीलले डाक्टरलाई कारबाही गरेको छ। गत मंसिरमा हृदयघात भएका भएका नेपाल वायुसेवा निगमका क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा लापरबाही गरिएको मेडिकल काउन्सीलको ठहर छ।
राणाको उपचारमा लापरबाही भइ मत्यु भएको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले मुटुरोग विशेषज्ञ डा. ऋषि खत्रीलाई कारबाही गरेको हो।
क्याप्टेन राणाको २०७७ मसिर १० गते हृदयघातका कारण मृत्यु भएको थियो। मंसिर ९ गते राति मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेको भोलिपल्ट राणाको मृत्यु भएको थियो।
राणाकी श्रीमती पुष्पा राणाले उपचारमा लापरबाही भएको भन्दै गत चैत ४ गते मेडिकल काउन्सिलमा उजुरी दिएकी थिइन्। उपचारमा संलग्न डा. खत्रीलगायत चिकित्सकविरुद्ध उजुरी गरिएको थियो। काउन्सिलले छानबिनपछि उपचारमा लापरबाही देखिएको ठहर गर्दै डा. खत्रीमाथि कारबाही गरेको हो।
डा. खत्रीलाई सूचना जारी भएको मितिले १ वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने निर्णय भएको काउन्सिलले जनाएको छ। एक वर्ष तालिम र थप सिकाइ गरेको प्रमाण पेश गरेपश्चात मात्रै मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय पनि काउन्सिलले गरेको छ।
काउन्सिलले उजुरीकर्ता पुष्पा राणालाई पत्र लेखी चिकित्सकमाथि कारबाही गरेको जानकारी दिएको छ।
