काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ। क्रियाशील छानविनको काम सकेर समितिले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार रमेश लेखक नेतृत्वको समितिले छानविनको काम सकेर शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक प्रारम्भिक प्रतिवेदन पेश गरेको छ। सभापति देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा लेखक नेतृत्वको समितिले प्रारम्भिक प्रतिवेदन पेश गरेको थियो।
‘क्रियाशील छानबिन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। १० गतेसम्म हामी बुझाउन सक्दछौ भनेर भन्नुभयो,’ प्रवक्ता शर्माले भने।
कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ बाट काठमाडौंमा हुने तय भएको छ। तर, अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन। क्रियाशील सदस्यताको विवाद उत्कर्षमा पुग्दा जिल्लाजिल्लाबाट आएर नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका छन्।
आजको बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले महाधिवेशनबारे आफ्नो राय पेश गरेका थिए। कांग्रेस पदाधिकारी बैठक भोलि ९ बजे बस्ने गरी स्थगित भएको छ।