काठमाडौं– केही समययता राजनीतिक भेटघाटलाई तिव्रता दिएका नेकपा माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शुक्रबार राप्रपा अध्यक्ष कमल थापासहितका नेताहरुलाई भेटेका छन्।
भेटमा समसामयिक राजनीतिका विषयमा विचार विमर्श भएको राप्रपाका अध्यक्ष कमल थापाले ट्विट गरेर जानकारी दिएका छन्।विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको उनले बताएका छन्।
भेटमा विप्लवले आफ्नो भूमिगतकालमा राप्रपाले गरेको वैचारिक सहयोगको खुलेर प्रशंसा गरेका थिए। उनले भने, ‘भूमिगत कालमा राज्यले दमन गरेको बेला विप्लवदेखि राजासम्म अटाउनुपर्छ भनेर सार्वजानिक अपिल गरिदिएकोमा धन्यवाद। यसरी हाम्रो लागि पनि बोलिदिएर हामीलाई ठूलो भरोसा दिनुभयो।’
उनले देश कठिन अवस्थामा पुगेको र वैदेशिक हस्तक्षेप अत्यन्त तीव्र भइरहेकोले यस्तोमा सबै दलहरु मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नुपर्नेमा जोड दिए।
विप्लवले तत्कालीन प्रम ओलीसँगको तीन बुँदै सहमतिपछि खुला राजनीतिमा आए पनि अझै कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका थिए। आफ्ना १२५ भन्दा धेरै कार्यकर्ता अझै जेलमा रहेको भन्दै उनले ओलीको बहिर्गमन भए पनि सम्झौता व्यक्तिसँग नभई राज्यसँग भएकोले अहिलेको सरकारले पनि सहमति कार्यान्वयन गरोस् भन्नेमा लागिपरेकोे बताए। यसमा राप्रपाको सहयोगको समेत अपेक्षा गरेको उनले बताए। जवाफमा राप्रपा अध्यक्ष थापाले सरकारले विप्लवसँगको सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको बताएका थिए।
जनमत संग्रहको कुराले होस् वा अन्य कुनै राष्ट्रिय सहमतिले, विप्लवदेखि राजासम्म अटाउने राजनीतिक प्रणालीको विकास हुनुपर्ने राप्रपाको धारणा रहेको थापाले उल्लेख गरे।
निवर्तमान केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो एक सातायता राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्।
असार २९ गते ओली नेतृत्वको सरकार विस्थापन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै विप्लवले राजनीतिक भेटघाट तीव्र पारेका हुन्।
देउवा प्रधानमन्त्री भएको भोलिपल्टै असार ३० गते उनले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गरेका थिए। त्यसको भोलिपल्ट विप्लव एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित नेपाल निवासमा पुगेर भेटवार्ता गरे।
साउन १ गते जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्व माओवादी नेता डा। बाबुराम भट्टराईसँग र २ गते नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरे। साउन ४ गते माओवादी छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापासँग भेटेका विप्लवले साउन ५ गते एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्।
बुधबार विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका थिए। विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँडसँग छलफल गरेका थिए।