काठमाडौं- देशभर शुक्रबार मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको महाशाखाको भनाइ छ।
प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार राति पनि यीनै प्रदेशमा मनसुन सक्रिय रहने महाशाखाले जनाएको छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रदेश १, बागमती, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।
नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।