जनकपुरधाम- प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका सर्लाहीका सांसद अमरेशकुमार सिंहकारबाही गर्न प्रदेश २ का मन्त्रीसहित दर्जन नेताहरूले माग गरेका छन्। पार्टी भित्रै षड्यन्त्र गर्ने र विपक्षीसँग मिलेर पार्टी सिध्याउने खेलमा लागेकाले सर्लाही जिल्लामा पार्टी कमजोर भएको भन्दै उनीहरूले सांसद् सिंहलाई कारबाही गर्न पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन्।
सिंहमा तानाशाही प्रवृत्ति देखिएको र पार्टीलाई आतंकित पारेको दाबी उनीहरूको छ। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहलाई कारवाही गरी तानाशाही र आतंकित पार्ने गतिविधिबाट पार्टी बचाउन उनीहरूको माग छ।
प्रदेश २ मा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहसहित १२ जना नेताहरूले देउवालाई पठाएको ध्यानाकर्षण पत्रमा सिंहलाई कारबाही नगरे सामूहिक राजीनामा दिने चेतावनी दिइएको छ।
बिहीबार सभापति देउवालाई लेखिएको ध्यानाकर्षण पत्रमा प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा सहित एक दर्जन नेताहरूको हस्ताक्षर छ।

