काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार पक्षले 'बाटो बिराएको' भएपनि पार्टी एकता कायम राख्नका लागि उनीहरूलाई आममाफी दिन सकिने धारणा राखे। केन्द्रीय कमिटीको बैठकपछि बाहिरिएका ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले अध्यक्ष ओलीबाट आम माफी दिन सकिन धारणा व्यक्त भएको जानकारी दिएका हुन्।
यसअघि बुधबारसम्म पनि अध्यक्ष ओलीले जसरी पनि नेपाल पक्षलाई कारबाही गरिछाड्ने र माधव नेपालरहित एमाले बनाउन 'हात धोएर' लागेजस्तै अभिव्यक्ति दिने गरेका थिए। प्रधानमन्त्री पदबाट बिदा भएर बालकोटको बार्दलीमा पुगेका दिन ओलीले माधव नेपाल कुनै पनि हालतमा एमालेमा रहन नसक्ने अभिव्यक्ति दिएका थिए। 'माधव नेपालको आत्मलोचना पनि गर्ने कुनै ठाउँ बाँकी छैन,' उनले भनेका थिए।
बुधबारको केन्द्रीय कमिटी बैठकमा पनि ओलीले माधव नेपालले 'गद्दारी' गिनिजबुकमा नै लेखिने उल्लेख गरेका थिए। यसअघि नै ओलीले नेपाललाई 'गद्दार'को समेत दिइसकेका थिए। 'माधव नेपालले गरेको गद्दारी गिनिजबुकमै लेखिनेछ,' ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भनेका थिए।
ओलीको गाली त्यतिमा मात्र सीमित भएन। माधव नेपाललाई ऐँजेरू भएको आरोपसमेत लगाएका थिए। 'समयमै पलाएको ऐँजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी हो। माउसुलीले कहिलेकाहीँ पुच्छर फालदिन्छ। त्यसकारण ऊ आत्तिदैन, किनकि पुच्छर तुरुन्तै पलाउछ। अहिले पुच्छर फाल्नु परेपनि तयार हुनु पर्ने बेला आएको छ,' ओलीको भनाइ थियो। नेता नेपालले वर्गविरोधी, कम्युनिस्ट विचारधाराविरोधी र जनताका उन्नतिविरोधीसँग साँठगाँठ गरेर अदालतको आडमा आफूमाथि आक्रमण गरेको ओलीको आरोप थियो।
यति मात्र होइन, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई कारबाही गर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि ओलीले गराएका थिए।
कारबाहीको निर्णय गराइसकेका र कम्युनिस्ट राजनीतिमा सबैभन्दा निकृष्ट गाली 'गद्दार'को संज्ञा माधवकुमार नेपाललाई दिइसकका ओली बिहीबारको बैठकमा भने एकाएक 'यु-टर्न' भएर प्रस्तुत भए। नेपालहरूलाई आममाफी दिन सकिने उनको अभिव्यक्ति थियो।
यसको अर्थ के त?
ओली पक्षका अनुसार ओलीको 'यू-टर्न' पार्टी एकताका लागि अपनाइएको लचकता हो। ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले घटनाक्रमले अभिव्यक्ति र प्रतिक्रिया प्रभावित हुने बताए। उनले एकता प्रयासका लागि विघटित कार्यदलले निरन्तर छलफल गरिरहेकाले पनि बाटो बिराएकाहरू फर्कने अपेक्षामा अध्यक्ष ओलीले आममाफीको विषय उठाएको उनले उल्लेख गरे।
'पहिलो कुरा त आममाफी कसलाई दिइन्छ? हामी युद्धबन्दी हो र आममाफी दिनलाई?' प्रश्न गर्दै झाँक्रीले थपिन्, 'हामी राजनीतिकर्मी हौँ। हामी राजनीतिक हिसाबले लडिरहेका छौँ। आममाफी दिने जस्ता कुरा गर्ने खड्गप्रसाद ओलीको अपमानित गर्ने शैली हो।'
'सबै कुरा समयसापेक्ष हुन्छन्। घटनाक्रमले हाम्रा अभिव्यक्ति र प्रतिक्रियालाई प्रभावित गर्ने हो। यसलाई त्यही रूपमा बुझ्न जरुरी छ। हामीबीच छलफल चलिरहेको र विघटित कार्यदलका सदस्य आपसमा संवादमा रहेको तथा एकता जोगाउने प्रयासलाई निरन्तरता दिने निष्कर्ष निकालेकाले नेतृत्वबाट त्यस्तो अभिव्यक्ति आएको हो,' ज्ञवालीले भने, 'पार्टी बलियो बनाउने संकल्पका साथ साथीहरू आउने भए उहाँहरूका विगतका क्रियाकलापलाई क्षमा गर्न सकिने उहाँ (ओली)ले आज जानकारी गराउनु भएको छ।'
बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकमा पार्टी एकता कायम राख्न भइरहेका प्रयासबारे छलफल भएको र त्यस्ता छलफललाई थप निरन्तरता दिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ। 'नेतृत्वबाट सबैलाई समेट्न अधिकतम प्रयास गर्ने निष्कर्ष बैठकले निकालेको छ। पार्टीमा आउन चाहने साथीलाई विगतका गल्ती बिर्सिएर आउन आग्रह गरिएको छ। कमीकमजोरी सच्याएर आउन अपिल गर्दै बैठक सकिएको छ,' ज्ञवालीले उल्लेख गरे।
अध्यक्ष ओलीले आममाफी दिने कुरा गर्नु अपमानित गर्ने शैली भएको माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको बुझाइ छ। उनले आफूहरूलाई आममाफी भन्ने ओलीको शब्द नै उपयुक्त नहुने बताइन्। राजनीतिकर्मीलाई आममाफी भन्ने कुरा नै उनको तर्क छ।
'पहिलो कुरा त आममाफी कसलाई दिइन्छ? हामी युद्धबन्दी हो र आममाफी दिनलाई?' प्रश्न गर्दै झाँक्रीले थपिन्, 'हामी राजनीतिकर्मी हौँ। हामी राजनीतिक हिसाबले लडिरहेका छौँ। आममाफी दिने जस्ता कुरा गर्ने खड्गप्रसाद ओलीको अपमानित गर्ने शैली हो।'