काठमाडौं– नेकपा एमालेका सांसदहरूले पार्टी एकता अभियान सुरु गरेका छन्। संस्थापन केपी ओली पक्ष र असन्तुष्ट माधव नेपाल समूह दुवैतर्फका केही सांसदले बिहीबार सिंहदरबारमा बैठक बसेर एकता अभियान सुरू गरेका हुन्।
अध्यक्ष र वरिष्ठ नेतालाई दबाब दिन अभियान सुरु गरेको सांसदहरुले बताएका छन्। ‘एकता अभियानमा अरू सांसद साथीहरु पनि जोडिनुहुन्छ। यो कसैको निर्देशन वा सल्लाहमा भएको होइन,’ एकता अभियानमा लागेका सांसद डा. दीपकप्रकाश भट्टले भने, ‘हामी सबै सांसदहरू एक ठाउँमा उभिएर नेतृत्वलाई एकतामा गम्भीर हुन आग्रह गर्छौं।’
अभियानमा ओली पक्षबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन र यज्ञ बोगटी छन्।
वरिष्ठ नेता नेपालको तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा छन्।
‘विवाद समाधान गर्न गठन गरिएको कार्यदलका सदस्यहरुसँग पनि छलफल गर्छौं,’सांसद भट्टले भने,‘१० बुँदेमा एकरूपता हो कि होइन भन्ने बुझ्छौं ।’ एकता आह्वानको अपिल तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा भट्ट र पाठकलाई दिइएको छ।
यसअघि तत्कालीन नेकपा हुँदा पनि पार्टीभित्र देखिएको विवाद समाधान गर्न र नेतृत्वलाई दबाब दिनका लागि सांसदहरूले अभियान सञ्चालन गरेका थिए।