काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी एकीकरण हुँदा सनाखत गरेका केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूलाई सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन आदेश दिएको छ। जसपा विवाद समाधान गर्न गठित इजलासको आजको बैठकले यस्तो आदेश गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए।
‘दल एकीकरण हुँदा सनाखत गरेका पदाधिकारीलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्र सहित साउन ११ मा उपस्थित हुन भनिएको छ,’ उनले भने। एकता हुँदा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना आयोगमा गएर सनाखत गरेका थिए। अब साउन ११ मा ती सबै कार्यकारिणी समितिका सदस्यहरु आयोगमा पुगेर सनाखत गर्नुपर्ने भएको छ।
दल एकीकरण हुँदा ५१ सदस्यीय कार्यकारिणी समितिमा जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष बहुमतमा छ। इजलासको आजको बैठकमा दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए।