जनकपुरधाम- प्रदेश २ मा पूर्वप्रधामन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुतला दहन भएको छ। हिन्दू धर्मावलम्बीहरूको आस्थामाथि प्रहार गरेको भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईको पुतला दहन भएको हो।
डा. भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध चढाएको तस्बिरसहित एक पोस्ट गरेका थिए। उक्त तस्बिरमा लेखिएको थियो, 'विश्वास एक खतरनाक कुरा हो, जसले तपाईंलाई दूध फ्याँकेर पिसाब पिउन लगाउँछ।’ उनको यो टिप्पणी लगत्तै चौतर्फी रुपमा आलोचना सुरु भएको छ।
( Circulated by my classmates in India) pic.twitter.com/cJLDuANLDd
— Baburam Bhattarai (@brb1954) July 21, 2021
उक्त ट्विटले हिन्दूहरूको विश्वासमाथि आघात पुर्याएको भन्दै हिन्दूवादी संगठन राष्ट्रिय एकता अभियानले जनकपुरमा र सप्तरीको राजविराजमा विश्व हिन्दू परिषद् नेपालले भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला जलाएका छन्।
राष्ट्रिय एकता अभियानका विनय यादवले हिन्दू धर्ममाथि प्रहार गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणी आपत्तिजनक रहेको र हिन्दू धर्ममाथि प्रहार रहेकोले उनको पुतला दहन गरेको बताए। यता डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेको भन्दै जसपा निकट विद्यार्थी संगठन वीरगञ्जका ११ जनाले राजीनामा समेत दिएका छन्।