काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर आउन सक्ने भन्दै सबैलाई सजग गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न र स्वास्थ्य संस्थाहरूलाई अक्सिजन, शय्या लगायतका पूर्वाधार चुस्तदुरुस्त राख्न निर्देशन दिएको हो।
मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा पछिल्लो एक सातामा कोरोना संक्रमणको दर बढिरहेको उल्लेख छ। ‘हामी सबै लागिपर्दा पनि संक्रमण जति घट्नुपर्ने हो, त्यति घटिरहेको छैन। निषेध आदेश खुकुलो भएको अवस्थामा अझै पनि बुझीनबुझी वा खुलमखुल्ला जनस्वास्थ्यका मापदण्डहरुको उल्लेख भइरहेको देखिन्छ। विगत एक सातामा संक्रमित हुने दर बढ्दो क्रममा छ।’
‘संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरुको पालना गराउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।’
मन्त्रालयका अनुसार अझै पनि १० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। यसैगरी २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन्। ती जिल्लामा अघिल्लो साताभन्दा संक्रमित थपिँदै गएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले भनेको छ, ‘संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरुको पालना गराउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।’ यसैगरी मन्त्रालयले आआफ्नो पालोमा नागरिकता वा आधिकारिक परिचयपत्रका साथ खोप केन्द्रमा गएर खोप लगाउन पनि आग्रह गरेको छ।