काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले सर्वोच्च अदालतको परमादेशविरुद्ध सडक र सदनमा आन्दोलन गरिने बताएका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार थापाले सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्दा ह्विप नलाग्ने फैसला गरेको भन्दै यसविरुद्ध सडक र सदनमा आन्दोलनको जरुरी रहेको र त्यसअनुसार आन्दोलन गरिने बताएका हुन्।
‘निर्दलीय सरकारविरुद्ध हामीले लोकतान्त्रिक आन्दोलन अगाडि बढाउन जरुरी देखिएको छ। सर्वोच्च अदालतको फैसला जुन आएको छ ७६(५) मा ह्विप नलाग्ने भन्ने अब हामीले यसविरुद्ध सडक र सदन हरेक तर्फबाट आन्दोलन अगाडि बढाउनु जरुरी छ।’ थापाले भने, ‘त्यसलाई संशोधन गर्नु जरुरी छ, यसका लागि आन्दोलन उठाउनु जरुरी देखिएको छ।’
तत्कालीन नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका थापाले पार्टी विभाजित भए पनि शुद्धीकरण अभियानअन्तर्गत अगाडि बढेको बताएका छन्। ‘लोकतान्त्रिक प्रणाली स्थापना गर्ने दिशातर्फ अगाडि बढ्नुपर्ने अवस्था अहिले रहेको छ।’ थापाले भने, ‘अहिले परमादेशबाट निर्दलीय सरकारमा परिणत भएको छ। जनादेशबाट बनेको सरकारलाई परमादेशबाट हटाइएको छ।’ उनले पुष्पलालले निर्माण गरेको पार्टी विभाजित बनेको र अन्तर संघर्ष अहिले वर्ग संघर्षमा परिणत भएको बताए।
थापाले कम्युनिस्ट पार्टीको नेतृत्व नयाँ हिसाबले अगाडि बढाउन जरुरी देखिएको पनि बताए। ‘कम्युनिस्ट पार्टीको नेतृत्व पुनःस्थापन गर्नेतिर हामी लाग्नुपर्छ। निर्दलीय सरकार अहिले स्थापना भएको छ, यसले लोकतान्त्रिक आन्दोलनमा गतिरोध उत्पन्न भएको छ।’ उनले भने, ‘अब हामीले संकल्प गर्न के जरुरी देखिएको छ भने हामीले नयाँ हिसाबले लाग्नुपर्छ।’
थापाले प्रतिक्रियावादी शक्ति कम्युनिष्ट पार्टी विभाजन गर्न सफल भएको जिकिर गरे। ‘विघटित भएको कम्युनिस्ट पार्टीलाई पुनः एकीकरण गरेर अगाडि बढन जरुरी देखिएको छ।’ थापाले भने, ‘निश्चय पनि अहिले पार्टी विभाजन भएको छ भने सुदृढीकरणको अभियान पनि सुरु भएको छ जस्तो लागेको छ।’
उनले आफ्नो प्रधानमन्त्री र दलको नेतालाई बर्खास्त गरेर अर्को पार्टीको नेतृत्वको सरकारलाई ल्याइएको भन्दै एमाले नेताहरुले गल्ती गरेको नभई अपराध गरेको बताए।