काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड-१९ विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभा बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए।
‘विकासलाई हामीले प्राथमिकता दिएका छौं’, तर त्योभन्दा पहिले आमनागरिकको ज्यान जोगाउने विषय महत्त्वपूर्ण हो,’ प्रधानमन्त्री देउवाले भने, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता निःशुल्क खोप वितरण हो।’ प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवर्धन गर्ने बताए।
अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकताबोध गराइदिएको उल्लेख गरे। उनले परिसंघले अघि बढाएको मेक इन नेपाल—स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने बताए। र्माले अर्थतन्त्र अहिले कमजोर अवस्थामा रहेको भन्दै त्यसलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताए। अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले जोड दिने पनि उल्लेख गरे।
यसैगरी परिसंघका अध्यक्ष विनोद चौधरीले परिसंघले महत्त्वपूर्ण थिंक ट्यांकका रुपमा काम गरिरहेको जानकारी दिए। उनले विश्वका सफल उदाहरण हेरेर परिसंघका गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाइने बताए। चौधरीले २०४६ सालको परिवर्तनसँगै सुरु गरिएको आर्थिक सुधारले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा ठूलो योगदान गरेको भन्दै दोस्रो चरणको सुधार आवश्यक भएको बताए।
साधारणसभामा प्रमुख वक्ताका रुपमा रहेका नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक भएको बताए। उनले भारत सरकारले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरेका थिए।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाका रुपमा परिसंघलाई अघि बढाएको बताए। अर्थतन्त्र पुनरुत्थानका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्नेमा जोड दिए।
परिसंघका अध्यक्ष वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे। उनले आर्थिक विकासको महत्त्वपूर्ण स्तम्भको रुपमा निजी क्षेत्र रहेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह पनि गरे। कार्यक्रममा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए।
युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ
परिसंघको साधारणसभामा प्रधानन्त्री देउवाले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरेका छन्। एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो। चेम्बर्सको नेतृत्व अहिले परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन्। कार्यक्रममा चौधरीले एसियाली देशहरुमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको बताए।