काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको प्रस्ताव गरेका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा बुधबार बोल्दै ओलीले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन्।
उनले आफ्नो नेतृत्वको सरकार ढालेर नेपालले जतिसुकै अक्षम्य अपराध गरे पनि आफू दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ती नेताले ओलीलाई उधृत गर्दै भने, ‘माधव नेपालले जतिसुकै अक्षम्य अपराध र गद्दारी गरे पनि एकताका लागि हदैसम्मको लचक छु। आफ्नै अध्यक्षको नेतृत्व गरेको सरकार ढालेर शेरबहादुर देउवाको पाउमा बुझाए पनि म एकताका लागि तयार छु।’ केन्द्रीय कमिटीले निर्णय गरेपछि विधान अधिवेशनमा संशोधन गरेर अनुमोदन गराउन सकिने एमाले विधानमा व्यवस्था छ।
बैठकमा ओलीले अन्तिमसम्म पनि एकता जोगाउन प्रयास जारी रहने बताएका छन्। उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु। एकता भएमा सबै संरचना ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन्।’ उनले आफू हदैसम्म लचिलो हुँदा पनि नेपाल पक्षबाट इच्छा नदेखाएको भन्दै रोष व्यक्त गरेका छन्। ओलीले भने, ‘ मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन। अनेक बहाना खोजिएको छ। त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्।’
‘म थाकेको छैन कमरेडहरु। एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन।'
उनले केन्द्रीय कमिटीमा बहुमत ल्याएर आफूहरूलाई पार्टीबाट निकाल्ने षड्यन्त्र गरिए पनि त्यसलाई पूरा हुन नदिइने बताए। यसअघि पनि नेपाल पक्षले यस्तो अभ्यास गरिसकेको ओलीको भनाइ छ। ओलीले भने, ‘संसद्मा आफ्नै पार्टीको सरकारका विरुद्धमा मत हालियो। यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो।’ उनले आफू फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथिरहेको पनि बताए। ओलीले भने, ‘म थाकेको छैन कमरेडहरु। एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन।'
बैठकमा सहभागी एक नेताका अनुसार आजै सक्ने भनिएको बैठक माधव नेपाल पक्ष एकताका लागि पर्खन भोलिका लागि पनि सारिएको हो।