काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले गरेको गद्दारी गिनिजबुकमा लेखिने दाबी गरेका छन्। पार्टी केन्द्रीय कमिटीको बैठकका क्रममा उनले टिप्पणी गरेका हुन्।
बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतप्रति पनि रोष व्यक्त गरेका थिए। 'माधव नेपालले गरेको गद्दारी गिनिजबुकमै लेखिनेछ। अदालतको फैसला पनि संसारमै नयाँ रेकर्ड रहनेछ,' ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।
सम्बोधनका क्रममा उनले माधव नेपाललाई ऐँजेरू भएको आरोपसमेत लगाएका थिए। 'समयमै पलाएको ऐँजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी हो। माउसुलीले कहिलेकाँहि पुच्छर फालदिन्छ। त्यसकारण ऊ आत्तिदैन, किनकि पुच्छर तुरुन्तै पलाउछ। अहिले पनि पुच्छर फाल्नु परेपनि तयार हुनु पर्ने बेला आएको छ,' ओलीको भनाइ थियो।
माधवकुमार नेपाल वर्गविरोधी, कम्युनिस्ट विचारधाराविरोधी र जनताका उन्नतिविरोधीसँग साँठगाँठ गरेर अदालतको आडमा आक्रमण गरेको ओलीको टिप्पणी थियो।
ओली केही दिनमा पार्टीका विषयमा आफूले थप कठोर निर्णय लिने चेतावनी समेत दिएका थिए। 'म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु पार्टी एकतामा आउनुहोस्। नत्र भोलि दिउँसो ३ बजे फेरि बैठक बस्छ। उचित निर्णय गर्छु,' ओलीको भनाइ थियो।