काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। पार्टीको क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोश व्यक्त गर्दै सिंहले बुधबार साँझ सांसद पदबाट राजीनामा दिएका हुन्।
प्रदेश २ मा पार्टीका उपसभापति विमिलेन्द्र निधिले क्रियाशील सदस्यता छानबिन लगायतका विषयमा हस्तक्षेप गरेको उनको आरोप छ। सिंहले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका छन्।
'मेरो राजीनामालाई एउटा निष्ठावान र जिम्मेवार कार्यकर्ताको बाध्यकारी निर्णयका रूपमा ग्रहण गर्दै तत्काल स्वीकृत गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु,' सभापति देउवालाई सम्बोधन गर्दै लेखिएको राजीनामापत्रमा उल्लेख छ।
सिंह प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

