बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं–तराई द्रुतमार्गको काम चार वर्षमा १६ प्रतिशत

काठमाडौं–तराई द्रुतमार्गको काम चार वर्षमा १६ प्रतिशत

  नेपाली सेनाले गत आव २०७७/०७८ सम्मको प्रगति सार्वजनिक गर्दै द्रुतमार्गको समग्र प्रगति १६.१० प्रतिशत भएको जानकारी गराएको छ।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– धमाधम काम भइदिएको भए यति बेला काठमाडौं–तराई द्रुतमार्ग (फास्टट्र्याक) मा सवारीसाधन गुड्न थालिसक्थे। बढीमा दुई घण्टाको यात्रामा काठमाडौंबाट बाराको निजगढसम्म पुग्ने लामो समयदेखिको सपना पूरा भइसकेको हुने थियो। निर्माणमा ढिलाइ हुँदा फास्टट्र्याकबाट राजधानी–मधेस यात्रा गर्ने दिन पनि टाढिँदै गएको छ। अहिले सडक मार्गबाट निजगढ–काठमाडौं यात्राका लागि कम्तीमा ६ घण्टा लाग्छ।

२०७४ साउन २७ गते निर्माणका लागि नेपाली सेनालाई हस्तान्तरण गरिएको काठमाडौं–तराई फास्टट्र्याक निर्माणमा १६.१० प्रतिशत मात्रै प्रगति भएको छ।  नेपाली सेनाले गत आव २०७७/०७८ सम्मको प्रगति सार्वजनिक गर्दै द्रुतमार्गको समग्र प्रगति १६.१० प्रतिशत भएको जानकारी गराएको छ।

सडकको लम्बाइ ललितपुरको खोकनादेखि बाराको निजगढसम्म कुल ७२ किलोमिटर छ। मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो। त्यति बेला आर्थिक वर्ष  २०७८/०७९ भित्रै सडक आयोजना सम्पन्न हुने लक्ष्य राखिएको थियो।  आयोजनाको डीपीआर तयारीमा ढिला भएपछि सेनाले निर्माण सम्पन्न हुने अवधि आव २०८०/२०८१ सम्म सारेको छ। सडक खण्ड निर्माणका लागि खोकनादेखि निजगढसम्म विभिन्न स्थानमा शिविर बनाएर नेपाली सेनाले निर्माण गरिरहेको छ।

यस्तो छ  प्रगति

आयोजनाको कामका लागि ८ अर्ब ९६  करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएकोमा ९७.३४ प्रतिशत वित्तीय प्रगति भएको नेपाली सेनाले जनाएको छ। आयोजनाले गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कामको ५.१० प्रतिशत भौतिक प्रगति  सम्पन्न भएको  वार्षिक प्रगति विवरणमा उल्लेख गरेको छ।

गत आर्थिक वर्षको अन्तिमसम्म आयोजनाको कुल प्रगति १६.२१ प्रतिशत सम्पन्न गर्ने लक्ष्य लिइए पनि सो लक्ष्य हासिल हुन नसकेको सेनाले स्वीकार गरेको छ। ‘आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समिष्टगत भौतिक प्रगति १६.१० प्रतिशत हासिल भएको छ’, नेपाली सेनाले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ।

काठमाडौं–तराई द्रुतमार्गको निजगढमा राेलिङ गरिँदै। तस्बिर : नेपाली सेना

द्रुतमार्गका विभिन्न ठाउँमा पुल र सुरुङमार्ग निर्माण गुर्नपर्ने यसअघि नै अध्ययनले देखाएको थियो। सोअनुसार सुरुङमार्ग निर्माणका लागि इन्जिनियरिङ प्रोसेरमेन्ट कन्स्ट्रक्सन मोडलमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी छनोट कार्य भइसकेको सेनाले जनाएको छ।

‘अन्तर्राष्ट्रिय बोलपत्र आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट कार्य सम्पन्न भई गत जेठ ३१ गतेबाट सुरुङ ठेक्का प्याकेजहरुको कम्मेन्सेन्ट भई मोबिलाइजेसन सहित कार्य प्रारम्भ गरिएको छ’, सेनाको प्रगति विवरणमा भनिएको छ। त्यस्तै सडक आयोजना डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरुको छनोट गरी सर्भे लगायतका कार्य अघि बढाइएको सेनाले  जनाएको छ।

 गत आवसम्म ८ वटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ। अन्य बेलिब्रिज जडान हुने क्रममा रहेका र पुल तथा सुरुङ निर्माणका लागि आवश्यक पर्ने  पहुँच मार्ग निर्माणको काम भइरहेको सेनाको दाबी छ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा १४ वटा बेलिब्रिज जडान गुर्नपर्ने आवश्यकता यसअघि नै औंल्याइएको थियो। सोअनुसार  गत आवसम्म ८ वटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ। अन्य बेलिब्रिज जडान हुने क्रममा रहेका र पुल तथा सुरुङ निर्माणका लागि आवश्यक पर्ने  पहुँच मार्ग निर्माणको काम भइरहेको सेनाको दाबी छ।

सेनाका अनुसार हालसम्म ९१.५ प्रतिशत जग्गा अधिग्रहण  तथा मुआब्जा वितरण सम्पन्न भएको छ। रुख कटान तथा व्यवस्थापन सम्बन्धी कार्य शतप्रतिशत सम्पन्न भएको नेपाली सेनाको दावी छ। रुख कटान गर्दा १ अनुपात  २५ वटा  वृक्षरोपण गर्नुपर्ने सम्झौताअनुसार गत असार मसान्तसम्म २ लाख ४९ हजार १६६ वटा वृक्षरोपण गरिएको छ।

प्रकाशित: Jul 21, 2021| 11:52 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।