काठमाडौं– निवर्तमान केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरेर खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो एक सातायता राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्।
असार २९ गते ओली नेतृत्वको सरकार विस्थापन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै विप्लवले राजनीतिक भेटघाट तीव्र पारेका हुन्।
देउवा प्रधानमन्त्री भएको भोलिपल्टै असार ३० गते उनले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गरेका थिए। त्यसको भोलिपल्ट विप्लव एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित नेपाल निवासमा पुगेर भेटवार्ता गरे।
साउन १ गते जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईसँग र २ गते नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरे। साउन ४ गते माओवादी छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापासँग भेटेका विप्लवले साउन ५ गते एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्।
आज (बुधबार) भने विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँडसँग छलफल गरेका छन्। छलफलको विषय भने खुलाइएको छैन।