विराटनगर- मोरङ प्रहरीले १५ वर्षदेखि भण्डारण गरि राखिएका विभिन्न बम एवं विष्फोटक पदार्थ नष्ट गर्न सुरु गरिएको छ।
तत्कालिन सरकारले माओवादी गतिविधि नियन्त्रण गर्नका लागि २०५९ सालमा प्रहरीलाई प्लाष्टिक हेन्ड–ग्रिनेट, ग्यास–हेन्ड ग्रिनेट, लङरेन्ज–हेन्ड ग्रिनेटसमेतका विष्फोटक पदार्थ उपलब्ध गराएको थियो। माओवादी शान्ति प्रक्रियामा आएको १५ वर्षपछि मात्रै त्यस्ता पदार्थ सुरक्षा निकायले नष्ट गर्न थालेको हो।
मोरङ प्रहरीसँग विभिन्न प्रकारका बममध्ये प्लाष्टिक हेन्ड–ग्रिनेट ३२७, ग्यास–हेन्ड ग्रिनेट ११० र लङरेन्ज–हेन्ड ग्रिनेट ६९ थान स्टकमा राखिएको थियो। माओवादी द्वन्द्वका समयमा सरकारले प्रहरीलाई दिएका विष्फोटक पदार्थ आवश्यक प्रक्रिया पूरा गर्दै मंगलबारबाट मोरङको कानेपोखरी जंगलमा लगेर नष्ट गर्न थालिएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले नेपाली सेनाको सहयोगमा मानवीय चहलपहल कम हुने स्थानमा पुर्याएर विष्फोटक पदार्थ नष्ट गर्न थालिएको जानकारी दिए। तत्कालिन समयमा प्रयोगमा नआएपछि प्रयोगको म्याद एवं समयसीमा सकिएर पुराना भएका तथा विष्फोट भएर जुनसुकै बेला पनि ठूलो क्षति गर्नसक्ने अवस्थाका विष्फोटक पदार्थ नष्ट गर्न थालिएको उनको भनाइ छ।
प्रयोगबिहीन भएर आगामी दिनमा काम नलाग्ने भएका विष्फोटक पदार्थ नष्ट गर्न प्रहरी प्रधान कार्यालयले सम्बन्धित प्रहरी युनिटलाई यसअघि नै निर्देशन दिइसकेको थियो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले निकै लामो समयअघि सरकारले सुरक्षा निकायलाई दिएका विष्फोटक पदार्थ पुरानो भएर कामै नलाग्ने अवस्थामा पुगेको बताए।
एसपी राईले नेपाली सेनासँगको सहयोगमा प्रदेश १ का विभिन्न प्रहरी युनिटमा रहेका यस्ता पदार्थ केही समयभित्रै नष्ट गरिसकिने जानकारी दिए।