काठमाडौं- पूर्वमन्त्री तथा जनता समाजावादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले सिरहाको लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेकी छन्।
मंगलबार उनले फेसबुकमार्फत् लहानको मेयरमा चुनाव लड्ने घोषणा गरेकी हुन्। लहानका वर्तमान मेयर मुनी साहबाट जनता पीडित भएको भन्दै साहको अधिनायकवादलाई परास्त गर्न आफ्नो उम्मेदवारी हुने उनको भनाइ छ।
'म लहान नगरपालिकाकाे मेयर पद का लागि चुनाव लडने घाेषणा गर्दछुl लहान नगरपालिकाका मेयर मुनी साहबाट जनता पीडित छन्l उनकाे अधिनायकवादलाई जनताले परास्त गर्ने छ,' उनले लेखेकी छन्।
अबका ५ वर्ष स्थानीय स्तरमा जनताको सेवा गर्ने उल्लेख गर्दै उनले सहयोग र सम्पर्कका लागि सबैमा अपिलसमेत गरेकी छन्। स्थानीय स्तरमा लोकतन्त्र र पारदर्शिता नभई सबैको विकास हुन नसक्ने उनको भनाइ छ।
तत्कालीन समाजवादी पार्टीकी नेतृ गिरीले कालापानीसहितको नेपालको नक्साको विरोध गरेपछि उनलाई पार्टीले सांसद पदबाट हटाएको थियो। उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री थिइन्।