काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले सरकारमा सहभागी हुने विषयमा कानुनी परामर्श भइरहेको बताएका छन्।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका एमाले सांसदको मंगलबारको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
'सरकारमा सहभागी हुनेबारे कानुनी परामर्श भइरहेको छ। सांसदको पद नजाने ग्यारेन्टी भए सरकारमा जान सकिन्छ। यस विषयमा छलफल भइरहेको छ,' उनले भने।
छलफलमा 'ओलीजस्ता लोफर नेताका कारण एमालेलाई सग्लो राख्न सकिन्न' भन्ने सुझाव बैठकमा आएको उनको भनाइ छ। कानुनले दिए नयाँ पार्टी बनाउने सुझावसमेत आएको उनले उल्लेख गरे।
नेपाल पक्षले आफ्नो पक्षको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाएको छ। उक्त बैठक निर्णायक हुने नेताहरुको भनाइ छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबैको सहभागिता हुने बताइएको छ। बैठकले सरकारमा सहभागिता तथा पार्टीमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निर्णय गर्ने अर्का एक नेताले जानकारी दिए।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले देउवाले सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरिरहेका छन्। प्रधानमन्त्री देउवाले सरकार विस्तार नगर्नुको कारण नेता नेपालको निर्णयको प्रतीक्षा रहेको बताइएको छ।