काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले विद्यार्थी र प्राध्यापकले उठाएका जायज माग पूरा गर्न विश्वविद्यालय तयार रहेको बताएका छन्।
विश्वविद्यालयमा भएका समस्या समाधानको माग राख्दै विद्यार्थीले दिएको मागपत्रको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले कुनै पनि संगठनलाई गलत मान्छेको पछाडि नलाग्न र कसैले गल्ती गरेर विश्वविद्यालयले कारवाही गरेमा चित्त नबुझे न्यायालयको ढोका ढकढक्याउन सक्ने बताए।
भर्चुअल कार्यक्रममा उपकुलपति सिंहले विश्वविद्यालय विद्यार्थीका मागप्रति सचेत भएको बताए।। विद्यार्थीका मागका विषयमा उपकुलपति संवेदनशील नभएको आरोप लगाउने गरिएकाले विद्यार्थीको मागबारे विश्वविद्यालय संवेदनशील भएको उनले प्रस्टीकरण दिएका हुन्।
उपकुलपति सिंहले भने, ‘विश्वविद्यालयमा भएका समस्या बाहिर आएमा समाधान गर्न सहज हुने भएकाले विद्यार्थीले विश्वविद्यालय प्रशासनमा माग राख्नु जायज हो। विश्वविद्यालयको दशौं सिनेटबाट उच्चस्तरीय समस्या समाधान समिति गठन भएकाले तत्काल विद्यार्थी संगठनसँग वार्ता गर्न यो समिति बनाइएको हो।’
समस्या समाधान गर्न वार्ता नै उत्तम विकल्प भएको उनको भनाइ थियो। विश्वविद्यालयले दिपबहादुर रावलको नेतृत्वमा, सिपि रिजाल र विरबहादुर पौडेलको तीन सदस्यीय वार्ता कमिटी गठन गरेको छ।
उपकुलपति सिंहले उच्चस्तरीय समस्या समाधान समितिबाट छलफल गरेर टुंङ्ग्याइने भएकाले विश्वविद्यालयमा अप्रिय गतिविधि नगर्न विद्यार्थी संगठनलाई सुझाव दिएका छन्।
उनले भने, ‘विश्वविद्यालयका समस्या समाधान गर्दै अघि बढ्नुपर्छ। पूरा गर्न मिल्ने सबै माग पूरा गर्छौं। तोडफोड जस्ता गतिविधी गर्नेलाई कारवाहि गछौैं। कुनै पनि विद्यार्थी संगठन र प्राध्यापक संघ नजिक र टाढा हुँदैन। विश्वविद्यालय सबैको साझा भएकाले सबैको अपनत्व ग्रहण गर्ने गरी विश्वविद्यालयको उद्देश्य अनुरुप अघि बढ्नुपर्छ।’