काठमाडौं- जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले पार्टी संसदीय दलको विधान अनुमोदन गर्नका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरेको छ। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षको सहभागिता बिना नै यादव पक्षले विधान अनुमोदनका लागि कार्यकारिणीमा पठाउने निर्णय गरेको हो।
विधान अनुमोदन गर्नु सुझाव लिने तयारी समेत जसपा यादव पक्षले गरेको छ। प्राप्त सुझा संकलन गरी विधानमा समावेश गर्नका लागि दुई नेताहरूलाई जिम्मेवारी दिइएको छ। नेताहरू रामसहायप्रसाद यादव र मोहम्मद इस्तियाक राईले प्राप्त सुझाव संकलन गरी तिनलाई विधानमा समावेश गरी केन्द्रीय कार्यकारिणी समितिमा पेस गर्ने जिम्मेवारी पाएका हुन्।
तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जसपा बनेको भएपनि उक्त दलले संसदीय दलको विधान बनाइसकेको थिएन। केपी शर्मा ओली सरकारका पालामा फुटको संघारमा पुगेका दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।