काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरूसँग एमाले वरिष्ठ नेता माधवकुमार नेपालले छलफल गर्नका लागि बोलाएको बैठक सुरु भएको छ। राजधानीको बानेश्वरस्थित अर्याल होटलमा नेता नेपालले देउवालाई विश्वासको मत दिने सांसदसँग छलफल सुरु गरेका हुन्।
बैठकमा देउवा सरकारमा सहभागिता र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने तयारी गरिएको बताइएको छ। छलफलमा एमालेका २२ सांसदसहित नेपाल निकट नेताहरू सहभागी छन्।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले देउवाले सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरिरहेका छन्। तर नेता नेपालको निर्णय भने सार्वजनिक भइसकेको छैन। प्रधानमन्त्री देउवाले सरकार विस्तार नगर्नुको कारण नेता नेपालको निर्णयको प्रतीक्षा रहेको आकलन गरिएको छ।