काठमाडौं– नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले डिजिटल भोटिङको अवधारणा तयार गरेको छ। विभागको असार २४ र २५ गते बसेको बैठकले डिजिटल भोटिङको अवधारणा बनाएको हो।
उक्त अवधारणालाई अन्तिम रुप दिइएको विभागले जनाएको छ। विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा डिजिटल भोटिङको अवधारणाले अन्तिम रुप पाइसकेको उल्लेख छ।
विभागले ‘प्रविधिमैत्री अभियान’का क्रममा पार्टीको वेबसाइटलाई आधुनिक बनाउने निर्णय गर्दै क्रियाशील सदस्यताको अभिलेखिकरणप्रति सन्तोष व्यक्त गरेको छ।
कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास गरिएको विभागले जनाएको छ। ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ।’
‘डिजिटल भोटिङ’ को नमुना प्रदर्शनीको आन्तरिक कार्ययोजना समेत तयार भएको र जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको विभागले जनाएको छ।
पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ।