बिहीबार, भदौ ४, २०८३

यस्ता छन् प्रचण्ड दौडधुपका तीन एजेन्डा

‘नेताहरुबीच मूलतः अहिले मन्त्रिपरिषद विस्तार र त्यसको सञ्चालन तथा समन्वयका विषयमा नै छलफल भइरहेको हो’, देउवा निकट अर्का एक नेताले भने, ‘अरु कुराभन्दा पनि प्रधानमन्त्री देउवाको चासो भने मन्त्रिपरिषद विस्तामा नै छ। बाँकी कुरा त छलफल हुँदैजाला भन्ने नै हो।’
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बर्हिगमन र शेरबहादुर देउवाको सत्तारोहणपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त छन्। प्रचण्डले मंगलबार बिहान मात्रै तीन जना शीर्ष नेताहरुसँग दुईवटा महत्वपूर्ण छलफल गरेका छन्।

प्रचण्डले मंगलबार बिहान प्रधानमन्त्री देउवासँग झन्डै एक घण्टा छलफल गरेका थिए। त्यसअघि उनले एमाले वरिष्ठ नेता माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका थिए। अध्यक्ष यादवसँग भने उनले नेता नेपाल निवास कोटश्वरमा छलफल गरेका थिए। 

‘परिवर्तित सन्दर्भका कतिपय राजनीतिक विषयमा अध्यक्ष कमरेडले गठबन्धनका नेताहरुसँग छलफल गर्नुभएको हो’, भेटघाटबारे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘यही नै विषयमा कुराकानी भएको भनेर बुझ्नुभन्दा राजनीतिक सन्दर्भका विषयमा भन्ने बुझ्नुहोस्।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटस्थहरूका अनुसार उनले गठबन्धनका नेताहरूसँग मूलतः तीन विषयमा कुराकानी गरिरहेका छन्। सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले पुनःस्थापित सदनको पहिलो दिन अर्थात् आइतबार विश्वासको मत प्राप्त गरेपछि प्रचण्डले समसायिक विषयहरुप्रति अरु बढी चासो देखाएका हुन्।

पहिलो विषय, प्रचण्ड चाहन्छन् देउवा नेतृत्वको छिटोभन्दा छिटो पूर्ण होस्।

अध्यक्ष कमरेडले यो सरकारमा एमालेको माधव पक्ष पनि सहभागी होस् भन्ने चाहनुभएको छ,' उनी निकट एक नेताका शब्दमा, ‘यो चाहनाभित्र नेकपा विभाजनका कारण, उत्पन्न परिस्थितिदेखि एमालेभित्रको मौजुदा संरचनासँग जोडिएका राजनीतिक परिस्थितिका पक्षहरु लुकेका छन्।’ यदि माधव पक्षलाई वर्तमान सरकारमा सहभागी गराउन सकियो भने आफू र नेपालसहितको ‘वामपन्थी अलाइन्स’ टिकाउ रहिरहने निष्कर्ष प्रचण्डको छ। त्यसैले प्रचण्डले एमालेभित्रको माधव समूहलाई आफू निकट राखिरहन चाहन्छन्। 

आजको छलफलमा मात्र होइन, यसअिघका पटक–पटकका भेटवार्ताहरूमा पनि प्रचण्ड र नेता नेपालबीच अबको राजनीतिक रूपरेखाका विषयमा छलफलहरु भएका छन्। एमाले अध्यक्ष केपी ओलीले ‘कुनै पनि हालतमा 'गद्दार' माधव नेपाललाई पार्टीभित्र स्थान नरहेको’ सार्वजनिक टिप्पणी  गरिरहेका बेला स्वयं नेताका लागि पनि यो विषय त्यत्तिकै मत्वपूर्ण छ। 

‘यो कुरा वर्तमान सरकारको सहभागितासँग पनि जोडिएका हुनाले प्रचण्ड र नेपालबीच स्वभाविक रुपमा छलफलको विषय बनिरहेको छ,' नेपाल निकट एक नेताले भने, ‘त्यसैले प्रचण्डले नेता नेपालसँग आज पनि सरकारमा सहभागी हुने विषयमा छिटो टुंगोमा पुर्‍याउन आग्रह गरिरहनुभएको छ।’    

नेता नेपालको निवासमा भएको छलफलमा सरकारमा सहभागी हुने विषयका अलवा अर्को दोस्रो चासोका विषयमा पनि विमर्श भएको स्रोतको दाबी छ। त्यो विषय हो, जनता समाजवादी पार्टी (जसपा) मा आएको ‘ट्विस्ट’। यसअघि केपी ओली सरकारको समर्थन र सद्भावमा देखिएको जसपाभित्रको महन्थ ठाकुर पक्षले एकाएक देउवालाई विश्वासको मत दिएपछि त्यो दलभित्रको अवस्था बदलिएको छ। यादव र ठाकुर पक्षबीच निर्वाचन आयोगमा अधिकारिताको बेन्च बसिरहेका बेला आइपरेको यो परिस्थितिबारे पनि नेता नेपाल, प्रचण्ड र यादवबीच छलफल भएको छ। 

समय लागोस् अलग कुरा, तर प्रचण्डले कुनै न कुनै बिन्दुमा एमालेभित्रको माधव पक्ष, जसपाभित्रको यादव पक्ष र आफूहरू मिलेर एउटा नयाँ राजनीतिक शक्ति तयार पर्ने ‘रोडम्याप’ गरिहरहेको जानकारहरुको बुझाइ छ। उनी यो रोडम्यापमा कुनै पनि बाधा र अफ्ठेरो नपरोस् भन्ने चाहन्छन्। त्यसैले पनि जसपा उनका लागि चासोको विषय बनिरहेको छ।

प्रचण्डको अर्को चासोको विषय छ, उच्चस्तरीय राजनीतिक संयन्त्र। 

देउवाको नेतृत्वमा सरकार बनिसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सञ्चालन तथा कार्यका लागि प्राथमिकता निर्धारण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको खाँचो देखिरहेका छन्। गठबन्धनको सरकार भएका हुनाले प्रधानमन्त्रीले मात्र क्याबिनेट मन्त्रीहरूको भार थेग्न नसक्ने र कतिपय महत्वपूर्ण कामहरु हुन नसक्ने भन्दै यस्तो संयन्त्रको गुञ्जायसबारे छलफल सुरु भएको छ।

‘नेताहरुबीच मूलतः अहिले मन्त्रिपरिषद विस्तार र त्यसको सञ्चालन तथा समन्वयका विषयमा नै छलफल भइरहेको हो,' देउवा निकट अर्का एक नेताले भने, ‘अरु कुराभन्दा पनि प्रधानमन्त्री देउवाको चासो भने मन्त्रिपरिषद विस्तामा नै छ। बाँकी कुरा त छलफल हुँदै जाला भन्ने नै हो।’

मंगलबार बिहान प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मूलतः मन्त्रिपरिषद विस्तारमै छलफल भएको दाबी उनको छ। प्रचण्डले आफूले नेता नेपाल र जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी हुनेहरुको सूची प्रधानमन्त्रीलाई दिन आग्रह गरेको भनाई देउवासमक्ष राखेको जानकारी ती नेताले दिए।

प्रकाशित: Jul 20, 2021| 09:43 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।