मोरङ- कोरोनाका कारण तीन दिनको फरकमा श्रीमान् श्रीमतीको मृत्यु भएको छ।
मोरङको बेलवारी नगरपालिका-११ लक्ष्मीमार्गमा कोरोना संक्रमणबाट श्रीमान्को मृत्यु भएको तीन दिनपछि श्रीमतीको पनि संक्रमणबाटै मृत्यु भएको हो। कोरोनाका कारण असार ३१ गते ७८ वर्षीय भैरव राईको ज्यान गएको थियो भने आइतबार साँझ ६८ वर्षीया पृथीकलाको मृत्यु भएको हो।
राई परिवारका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित ६ जनामा चार जना निको भइसकेका छन्।
लक्ष्मीमार्गमा तीन साताको अवधिका कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ। निषेधाज्ञा खुकुलो भएलगत्तै वडामा संक्रमितको संख्या बढेपछि एक सातासम्म वडा सील गरिएको थियो।