बागलुङ- विषाक्त रक्सी सेवन गर्दा बागलुङमा चार जनाको ज्यान गएको छ। गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले विषाक्त मदिरा सेवन गरेकोमा चार जनाको ज्यान गएको हो। दुई जनाको भने गम्भीर अवस्थामा उपचार भइरहेको छ।
उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सोमबार राति उनीहरूको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ति रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले मजदुरी गर्दै आएका १४ जनामध्ये ६ जनाले गलकोट नगरपालिका-७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएका थिए। कोठामा गएपछि बिरामी परेका उनीहरूलाई उपचारका लागि अस्पताल लैजादै गर्दा ४ जनाको बाटोमै मृत्यु भएको हो।
दुई जनाको भने धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। रोल्पा सुनिलस्मृति गाउँपालिका- ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको हो।