धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारीकी आशा विक कोभिड–१९ दोस्रो लहरमा संक्रमित भइन्। अहिले संक्रमणमुक्त उनी गर्भवती छन्। कोरोना संक्रमित भएपछि थलिएकी उनलाई अहिले पौष्टिक खानेकुराको जोहो गर्न समस्या छ।
सोमबार दलित महिला अधिकार मञ्चले आईएमईबाट पठाएको ४ हजार ५०० रुपैयाँ उनले प्राप्त गरिन्। ‘कोरोना संक्रमणमुक्त त भएँ तर, अहिले गर्भवती पनि छु’, उनले भनिन्, ‘यो अवस्थामा पौष्टिक आहारको आवश्यकता पर्छ, यो रकमले त्यही सामाग्री किन्छु।’
सोही ठाउँकी दिलकुमारी दर्जी पनि अहिले कोरोना संक्रमणमुक्त भएकी छन्। उनी आफू त संक्रमण मुक्त भइन्। तर, श्रीमानले भने कोरोनाबाटै ज्यान गुमाए। संक्रमित हुँदा चरम आर्थिक अभाव झेलेकी उनी अहिले पनि बिरामी छन्। उनीसँग औषधि उपचार गर्न रकम अभाव छ। फूलबारीस्थित आईएमईमा भेटिएकी ज्येष्ठ नागरिक दर्जीले मञ्चले आईएमईबाट उपलब्ध गराएको रकम देखाउँदै भनिन्, ‘यो पैसाले औषधि किन्छु।’
मञ्चले सोमबार फूलबारीमा एक कार्यक्रम गरी ४४ जना महिलालाई ४ हजार ५०० का दरले नगद उपलब्ध गराएको मञ्चकी कोषाध्यक्ष निर्मला विकले बताइन्।
उनीहरुलाई वडा नम्बर १८ का सदस्य गणेश विक, अध्यक्ष सावित्रा घिमिरे, कोषाध्यक्ष विक, सदस्य ईन्द्रा दानपाली, कार्यक्रम संयोजक रोहित विक र राजेन्द्र रैकाको उपस्थितिमा आईएमईबाट पठाइएको रकम झिकेर हस्तान्तरण गरियो।
दलित महिला अधिकार मञ्चले धनगढीका १९ वटै वडाका अति विपन्न, कोरोना प्रभावित, गर्भवती महिलालाई नगद रकम सहयोग गर्ने अभियान अघि बढाएको छ।
कोभिड–१९ संक्रमणबाट पीडित भएका विपन्न वर्गभित्रका महिला, दलित महिला, अपाङ्ता रहेका महिला, एकल महिला, जेष्ठ नागरिकरुलाई पौष्टिक खानेकुराका लागि नगद सहयोग गरिएको मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले बताइन्।
उपमहानगरपालिकाका १९ वटै वडाका ५०० घर परिवारलाई प्रतिपरिवार ४ हजार ५०० रुपैयाँ आईएमईमार्फत् पठाइएको अध्यक्ष घिमिरेले बताइन्।
उपमहानगरलाई स्वास्थ्य सामग्री
मञ्चले अति विपन्न कोरोना प्रभावितहरुको लागि धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ।
संघकी अध्यक्ष सावित्रा घिमिरेले धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख सुशीला मिश्र ‘भट्ट’ र स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेकी हुन्।
संस्थाले हस्तान्तरण गरेको स्वास्थ्य तथा सरसफाई सामग्रीमा हाइजिनिक किट १०० बक्स, फेस शिल्ड १०० थान, थर्मामिटर १०० थान, नुहाउने डिटोल साबुन १०० थान, डिटोल एन्टीसेप्टिक २५० एमएल १०० थान, ह्याण्ड स्यानिटाइजर ५०० एमएल १०० थान, वासिङ सोप १०० पाकेट, फेस मास्क १०० पाकेट, ग्लोब १०० पाकेट, थर्मस १०० थान, स्यानिटाइजर ५ लिटर १०० थान र टिसु पेपर १०० पाकेट छ।
संस्थाकी अध्यक्ष घिमिरेले डफ परियोजनाअन्तर्गत् कोभिड-१९ को दोस्रो चरण प्रतिकार्य २०२१ मा अति विपन्न ३०० कोरोना प्रभावितहरुका लागि धनगढी उप-महानगरपालिकामार्फत् स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको बताइन्।