काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको विषयमा आन्दोलनरत पक्ष र सरकारी छानबिन समितिबीच वार्ता सुरु भएको छ। एक महिनाभन्दा लामो आन्दोलनपछि सोमबार बार्ता सुरु भएको हो।
सरकारले प्रतिष्ठानमा भइरहेको आन्दोलन र त्यहाँका समस्या बुझेर समाधानको सुझाव दिन गत शुक्रबार ९ सदस्यीय अध्ययन समिति बनाएको थियो। सरकारी छानबिन समिति आन्दोलनरत पक्षसँग वार्ताका लागि प्रतिष्ठानमै पुगेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याल संयोजकत्वको समितिले सोमबारदेखि वार्ता सुरु गरेको हो। समितिले सोमबार पहिलो चरणमा आन्दोलनरत पक्षसँग उनीहरुका मागका विषयमा सामान्य छलफल गरेको छ। छलफलका क्रममा आन्दोलनरत पक्षले अस्पतालमा भइरहेको गतिविधि र समस्याका बारेमा समितिलाई जानकारी गराएको छ।
समितिले आन्दोलनरत पक्षका कुरालाई टिपोट गरेको र अस्पतालका पदाधिकारीसँग तत्काल वार्तामा बस्ने जनाएको आन्दोलनरत पक्षका वार्ता समिति सदस्य पदम नेपालीले नेपाल समयलाई जानकारी दिए। वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याल, डा. गुणराज लोहनी लगायतका ९ जना छन् भने आन्दोलनरत पक्षबाट डा. एसपी रिमाल, डा. विष्णु पोखरेललगायत १५ जना प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी छन्।
बीपी प्रतिष्ठानका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै त्यसको छानबिन तथा प्रतिष्ठानका अन्य समस्या समाधानका लागि प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलित छन्। प्रतिष्ठान शुद्धीकरणको अभियानसहित असार १ अघिदेखि उनीहरूको आन्दोलन जारी छ।