काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलको रूपमा राप्रपा भित्र भावी नेतृत्व र कार्यक्रमबारे खुला छलफल गर्न आह्वान गरेका छन्।
‘कसैप्रति व्यक्तिगत लान्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोही पनि हिच्किचाउनु हुँदैन,’ अध्यक्ष लोहनीले आइतबार भने।
प्रजातान्त्रिक पार्टीमा निर्वाध विचार आदानप्रदान गर्ने हक सबैका लागि सुरक्षित रहेकोमा उनको जोड थियो।
महाधिवेशनको क्रममा, पार्टी नेतृत्व र आधारभूत मान्यताबारे प्रजातान्त्रिक बहस गर्नु सम्पूर्ण पार्टीपंक्तिको दायित्व हो भन्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमा लेख्दै लोहनीले पार्टीको आधारभूत मान्यता र एजेण्डाको परिधि भित्र रहेर खुला छलफल गर्न कार्यकर्तालाई आह्वान गरेका छन्।
लोहनीले आउँदो चार महिनाभित्र एकता महाधिवेशन सफल रूपमा सम्पन्न गरी, राप्रपालाई देशको जिम्मेवारी लिन सक्ने सशक्त राष्ट्रवादी र प्रजातान्त्रिक दलको रुपमा खडा गर्नु पर्ने बताए। ‘यही नै हाम्रो कर्तव्य हो,’ लोहनीले भने।
पार्र्टी सबैको साझा राजनीतिक सम्पत्ति भएको बताउँदै उनले यसको संरक्षण र सम्बद्र्धन कसरी गर्नुपर्छ भन्नेमा सबै चिन्तित हुनुपर्ने टिप्पणी गरे।